चोटग्रस्त नेइमारको स्थानमा युवा खेलाडी एन्डरिकलाई राष्ट्रिय टिममा मौका

चैत्र २, २०८१ |खेल ब्युरो
चोटग्रस्त नेइमारको स्थानमा युवा खेलाडी एन्डरिकलाई राष्ट्रिय टिममा मौका

काठमाडौं । ब्राजिलले चोटग्रस्त नेइमारको स्थानमा युवा खेलाडी एन्डरिकलाई राष्ट्रिय टिममा बोलाएको छ । सान्तोषका स्ट्राइकर नेइमारलाई मांसपेशीमा समस्या देखिएपछि विश्वकप छनौट खेलका लागि एन्डरिकले मौका पाएका हुन् ।

घुँडाको चोटका कारण १७ महिना मैदान बाहिर रहेका नेइमार पुनरागमनको तयारीमा थिए । उनी सन २०२३, अक्टोबरमा उरुग्वे सँगको खेलका क्रममा घाइते भएका थिए । तर ३३ वर्षीय नेइमारलाई पुन अर्को झड्का लागेको छ । उनी कोलम्बिया र अर्जेन्टिना विरुद्धको खेलबाट बाहिरिएका हुन् ।

उनले आफ्नो सामाजिक सञ्जालमा पुनरागमनको एकदमै नजिक पुगेर पनि पछि हट्नु परेको बताएका छन् । फेरि एकपटक आफू विश्वकै महतवपूर्ण जर्सी लगाउनबाट असफल भएको नेइमारको भनाइ छ । 

साउदी प्रो लिग क्लब अल हिलालमा संघर्षपूर्ण समय बिताएका नेइमार गत जनवरीमा आफ्नो बाल्यकालको क्लब सान्तोष फर्किएका थिए । ब्राजिलको शीर्ष डिभिजनको लिगमा उनले सात खेल खेल्दै तीन गोल र तीन असिस्ट गरेका छन् । नेइमारले ब्राजिलका लागि १ सय २८ क्याप जित्दै ७९ गोल गरेका हुन् ।

जुन पेलेको भन्दा दुइ गोलले बढी हो । १८ वर्षीय एन्डरिकले सबै प्रतिस्पर्धामा गरी रियाल मड्रिडका लागि यो सिजन २८ खेल खेलेका छन् । उनले स्पेनिस जायन्टका लागि ६ गोल गरेका छन् । एन्डरिकले ब्राजिलबाट १३ खेल खेल्दै तीन गोल गरेका छन् । 

ब्राजिल दक्षिण अमेरिकी छनोट तालिकामा पाँचौँ स्थानमा छ । उसको १२ खेलबाट १८ अङ्क छ । चौथो स्थानमा रहेको कोलम्बियासँग ब्राजिलले २१ मार्चमा प्रतिस्पर्धा गर्नेछ । त्यसको पाँच दिनपछि लिडर अर्जेन्टिनाको सामना गर्नेछ । शीर्ष ६ टिम २०२६ मा हुने फिफा विश्पकपका लागि सिधै छनौट हुनेछन् ।



Enter Kantipur TV HD
Advertisement