साउदी प्रो लिग : अल खलुदमाथि अल नासारको जित

अल नासारको उपाधि जित्ने आशा जीवितै
चैत्र २, २०८१ |खेल ब्युरो
साउदी प्रो लिग : अल खलुदमाथि अल नासारको जित

काठमाडौं । साउदी प्रो लिगमा अल नासारले अल खलुदमाथि ३-१ गोलको जित हात पारेको छ । यो नतिजापछि क्रिस्टियानो रोनाल्डोको नेतृत्वमा रहेको नासारको उपाधि जित्ने आशा जीवितै बनेको छ ।

रियादमा गएराति भएको खेलमा नासारले खेल सुरु भएको चौथो मिनेटमै अग्रता लिएको थियो । पोर्चुगिच स्ट्राइकर रोनाल्डोले गोलको खाता खोलेका हुन् । जोन डुरानको प्रहार गोलकिपरसँग डिफ्लेक्ट भएपछि उनले रिबाउन्डमा गोल गरेका थिए । 

४० वर्षीय रोनाल्डोको यो ९ सय २८औं करियर गोल हो । उनी एक हजार गोल गर्ने लक्ष्य पछ्याइरहेका छन् । २६औं मिनेटमा साडियो मानेले घरेलु टिमको अग्रता दोब्बर बनाए । ४१औं मिनेटमा डुरानले गोल गरेपछि पहिलो हाफमा नासारले ३-० को दूरी बनाएको थियो । 

५६औं मिनेटमा नवाफ बौसाल रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि नासार दश खेलाडीमा समेटिएको थियो । ७२औँ मिनेटमा नासारका अली लाजामीले आफ्नै पोस्टमा गर्दा खलुदले दूरी कम गरेको थियो । 

तर उसले पुनरागमन गर्न सकेन । यो जितले नासारको उपाधि जित्ने सम्भावनालाई कायमै राखेको छ । तर अङ्क तालिकामा भने तेस्रो स्थानमै यथावत छ । 

नासारको २५ खेलबाट ५१ अंक छ । शीर्ष स्थानमा रहेको अल इत्तिहादको ६१ र दोस्रो स्थानको अल हिलालको २४ खेलबाट ५४ अंक छ । ३१ अंकका साथ खलुद दशौं स्थानमा छ ।



Enter Kantipur TV HD
Advertisement