काठमाडौं । ओपनर तृतराज दासले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आफ्नो पहिलो शतक प्रहार गरेपछि त्रिभुवन आर्मी क्लबले लगातार चौथो जित हात पारेको छ । अपराजित आर्मीले कोशी प्रदेश विरुद्ध ७ विकेटको जित हात पारेको हो ।
जारी पीएम कपमा कोशीको यो लगातार चौथो हार हो । उसले हालसम्म कुनै खेल जित्न सकेको छैन ।
रूपन्देहीको सिद्धार्थ क्रिकेट रंगशालामा कोशीले टस जितेर पहिले ब्याटिङ गर्दै ४९ ओभर ३ बलमा सबै विकेट गुमाएर २३० रन बनाएको थियो । खराब सुरुआत गरेको कोशीले २७ रनमा सुरुआती ३ विकेट गुमाइसकेको थियो । सोनु अन्सारी ४४ रन बनाएर बाहिरिए । सुजन थपलियाले ४२ रन जोडे । चौथो विकेटका लागि सोनु र सुजनले ९२ रनको शानदार साझेदारी गरेका थिए । सुभान गहतराजले सर्वाधिक ५१ रन जोडे ।
आर्मीका लागि सोमपाल कामीले ४ तथा शाहब आलम र आकाश चन्दले समान २-२ विकेट लिए । जवाफमा आर्मीले ४७ ओभर १ बलमा ३ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । आर्मीको जितमा तृतराज दासले अविजित रहँदै शतक प्रहार गरे । सन्तोष कार्की ७ रन र भीम सार्कीलाई १२ रनमा गुमाएको आर्मीका लागि तेस्रो विकेटको रूपमा तृतराजले कप्तान विनोद भण्डारीसँग ५३ रनको साझेदारी गरे । विनोद २७ रन बनाएर आउट भए ।
तृतराजले सर्वाधिक ११२ रनको शतकीय साझेदारी गरे । तृतराजका लागी पीएम कपमा यो पहिलो शतक हो भने यस संस्करणको दोस्रो शतक हो । यसअघि सुदूरपश्चिमका किरण ठगुन्नाले शतक प्रहार गरेका थिए । चौथो विकेटका लागि तृत र बसिर अहमदकाबीच १२० रनको अविजित शतकीय साझेदारी भएको थियो ।
बसिरले अविजित ६१ रन जोडेका थिए । कोशीका लागि प्रकाश कार्की, सन्दीप ढुंगाना र भुपाल लुईंटेलले समान १-१ विकेट लिएका थिए । यससँगै ४ खेल खेल्दा अपराजित रहेको आर्मीले ८ अंक जोडेको छ । समान ४ खेल खेलिसक्दा अंकविहीन कोशी तालिकाको पुछारमा छ ।
यस्तै डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित हात पारेको छ ।
आज सम्पन्न खेलमा अपराजित पुलिसले मधेश प्रदेशलाई १९३ रनको फराकिलो जित हात पारेको हो । पुलिसको एकतर्फी जितमा कप्तान दीपेन्द्रसिंह ऐरीले आक्रामक ब्याटिङ गर्दा ललित राजवंशीले यस खेलमा पनि उत्कृष्ट बलिङ गरे ।
देउखुरी क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको पुलिसले ४९ ओभर ५ बलमा सबै विकेट गुमाएर २८८ रन बनाएको थियो । ओपनर कुशल भुर्तेलले ११ रन मात्र बनाउन सके । अर्जुन साउदले ४७ र दिलिप नाथले ४५ रनको योगदान दिए । आरिफ शेखले ५४ बलमा ४ चौका र १ छक्काको सहयोगमा ५५ रन बनाएका थिए । जारी प्रतियोगितामा उनको दोस्रो अर्धशतक हो ।
दीपेन्द्रले ३६ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ६३ रनको महत्त्वपूर्ण इनिङ्स खेले । शंकर राना २७ तथा रशिद खान १४ रनमा आउट भएका थिए । पुलिसले अन्तिम ५ ओभरमा ५ विकेट गुमाउँदै मात्र २६ रन बनाएपछि विसाल योगफल बनाउनबाट चुकेको थियो । मधेशका लागि रूपेश सिंहले ४ विकेट लिए । विशाल पटेलले ३ तथा कमल गुप्ताले २ विकेट हात पारे ।
जवाफमा खराब ब्याटिङ गरेको मधेशले २६ ओभर १ बलमा सबै विकेट गुमाएर ९५ रन मात्र बनाउन सक्यो । मधेशका लागि दीपेश दासले सर्वाधिक ३१ रन जोडे । रूपेश सिंह १६ र विशाल पटेल १३ रनमा आउट भए ।
मधेशका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । पुलिसका लागि ललितनारायण राजवंशीले ५ विकेट लिए । कुशल भुर्तेलले २ विकेट हात पारे । जितसँगै पुलिस ४ खेलमा ४ जितसहित ८ अंक जोडेको छ । पराजित मधेशको ३ खेलमा २ अंक रहेको छ ।