सिंजा सभ्यतालाई विश्वसम्पदा सुचीमा राख्न माग

चैत्र २, २०८१ |डीबी बुढा
सिंजा सभ्यतालाई विश्वसम्पदा सुचीमा राख्न माग

जुम्ला । जुम्ला प्रदेश क्षेत्र (ख) मा रहेको सिंजा सभ्यतालाई विश्व सम्पदा सुचीमा राख्न माग गरिएको छ । तत्कालिन सिंजा सभ्यताको केन्द्र र नेपाली भाषाको उद्गमस्थल मानिएको सिंजा क्षेत्रलाई विश्व सम्पदा सुचीमा राख्न माग गरिएको हो ।

सिंजा सभ्यतालाई विश्व सम्पदा सुचीमा राख्ने आधार तयार पार्नको लागि अध्ययन गर्न पुगेको पुरातत्व विभागको टोलीसँग सिंजाबासीले विश्व सम्पदा सुचीमा सिंजा सभ्यतालाई सुचिकृत गरेर सिंजाको ऐतिहासिक महत्व झल्काइदिन आग्रह गरेका थिए ।

सिंजा सभ्यताको विगत, वर्तमान र भविष्यका सन्दर्भमा पुरातत्व विभागको टोलीले स्थानीयसंग छलफल समेत चलाएको थियो । पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्ग नेतृत्वको टोली नै सिंजा उपत्यकामा पुगेको हो । टोलीले सिंजा क्षेत्रको हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकामै पुगेर सिंजा सभ्यताको बारेमा छलफल चलाएको थियो ।

महानिर्देशक प्रधानाङ्गले सिंजा सभ्यतालाई विश्व सम्पदा सुचीमा समेट्ने आधार तयारीका लागि अध्ययन गर्न जुम्ला पुगको बताउनुभयो । उहाँका अनुसार सिंजा गाउँपालिकाको पहलमा टोली जुम्ला आइपुगेको हो ।

महानिर्देशक सौभाग्य प्रधानाङ्गले भने, ‘सिंजालाई विश्व सम्पदा सुचीमा राख्ने बिषयमा सबै एक भएको देखिन्छ । तर आधुनिक विकासका नाममा प्राचिन सभ्यता मास्ने कार्य रोक्न जरुरी छ ।’ पुरातत्व विभागले देशका १५ वटा नयाँ क्षेत्र विश्व सम्पदा सुचीमा राख्न तयारी थालिरहेको छ, महानिर्देशक प्रधानाङ्गले थपे, ‘जसमा कर्णाली प्रदेशका सिंजा सभ्यता र दुल्लुका २२ देवल पनि छन् । विभागले सिंजालाई विश्व सम्पदा सुचीमा समेट्न काम अघि बढाइसकेको छ, तर विकासका नाममा धमाधम सम्पदा मासिने कामले परम्परागत संस्कृति नै ध्वस्त हुने खतरा बढ्यो । यो कार्य रोक्न सबै चनाखो रहनुहोला ।’

सिंजा गाउँपालिकाका अध्यक्ष पुर्णप्रसाद धितालले सिंजालाई विश्व सम्पदा सुचीमा राख्न पटकपटक विभागमा पहल भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सबै नेपालीको पहिचानको क्षेत्र सिंजा सभ्यता हो । विश्व सम्पदा सुचीमा राख्ने प्रयत्न छिटो अघि बढाउन आग्रह गरिएको छ ।’

उहाँले सिंजालाई विश्व सम्पदा सुचीमा राख्नको लागि गर्नुपर्ने सबै पहल जारी राख्ने समेत जनाएको छ । सिंजाका सम्पदा संरक्षणको अभावमा जीर्ण बन्दै गइरहेको बेला पुरातत्व विभागले देखाएको चासो प्रति सिंजाबासी नतमस्तक छन । 

सिंजा ५ का नन्दबहादुर रावलले ढिलै भएपनि सिंजालाई विश्व सम्पदा सुचीमा राख्ने प्रक्रिया अघि बढेकोमा खुसी व्यक्त गर्नुभयो। केन्द्रीकृत शासनको बेला सिंजा क्षेत्रमा ११ वटा गाविस थिए । अहिले तीन गाउँपालिकामा विभक्त छ । सिंजालाई विश्व सम्पदा सुचीमा राख्न तिन वटै स्थानीयतह एक भएर अघि बढ्नुपर्ने सिंजाबासीले आग्रह गरेका छन ।

झन्डै १२ औं शताब्दीमा सिंजामा तिब्बती मूलका राजा नागराजले खस साम्राज्यको शासन सुरु गर्नुभएको थियो । नेपाली भाषाको उद्गमस्थल सिंजा ऐतिहासिक, पुरातात्विक, भाषिक, सांस्कृतिक हिसाबले धनी भएपनि यसको संरक्षणको पर्खाइमा बर्षौंदेखि रही आएको छ ।

हाल लुम्बिनी र काठमाडौं उपत्यका विश्वसम्पदा सूचीमा छन। पशुपतिनाथ मन्दिर, चाँगुनारायाण, बौद्ध स्तूपा, पाटन दरबार क्षेत्र विश्वसम्पदा सूचीमा परिसकेका छन । 

कर्णाली राजमार्ग हुदै कर्णालीको प्रमुख पर्यटकीय गन्तब्य राराताल पनि सिंजा उपत्यका हुदैं जाने भएकोले आन्तरिक तथा बाह्यपर्यटकहरु पनि सिंजा सभ्यताको अध्ययन गरिरहेका छन् । केहीले सिंजामै बसेर सिंजा सभ्यताको थेसिस समेत लेखिरहने गरेको स्थानीयले बताए । 


Image

डीबी बुढा

बुढा कान्तिपुर टेलिभिजनका जुम्ला संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement