बाँके । बाँकेको जयन्दु बाल सुधारगृहमा दुई समूहबीच भएको झडप अनियन्त्रित भएको छ ।
बालसुधारगृहमा रहेका मध्ये २ सय ७० जनाभन्दा बढी बाहिर निस्केको प्रहरीले जनाएको छ । सुधारगृहभित्र आगजनी र तोडफोड भइरहे पनि सुरक्षाकर्मी भित्र पस्नसक्ने अवस्था नरहेको कान्तिपुर सहकर्मी जे पाण्डेले जानकारी दिनुभएको छ ।
बाहिर निस्किएकाहरूले आसपासका पसलमा लुटपाट समेत गरेको प्रहरीले जनाएको छ । होली मनाउने विषयलाई लिएर दुई पक्षबीच हिजो दिउँसो विवाद भएको र राति अर्को पक्षले सुतेका बेला एक्कासी खुकुरीले आक्रमण गरेको सुधारगृह प्रशासनले जनाएको छ ।
त्यस क्रममा घाइते भएका ६ जनाको नेपालगञ्जमा उपचार भइरहेको छ । घाइतेहरूमध्ये धेरैको टाउकोमा चोट लागेको अस्पतालले जनाएको छ ।
यसैबीच बालसुधार गृहमा रहेका बालकका अभिभावक तथा आफन्तहरूले आफ्ना सन्तान असुरक्षित भएको भन्दै प्रशासनसँग सुरक्षा माग गरेको सहकर्मी जे पाण्डेले जानकारी दिनुभएको छ । यसअघि बाँकेको नौबस्तामा रहेको बालसुधार गृहमा पनि दुई समूहबीच झडप भएको थियो ।
सुधारगृहभित्र निगरानी नहुँदा लागूऔषधको कारोबार तथा सेवन हुने गरेको भनेर आलोचना हुने गरेको छ ।