अल इंग्ल्यान्ड ओपन ब्याडमिन्टन च्याम्पियनसिप : उपाधि दावेदार भिक्टर एक्सेलसेनको अप्रत्यासित हार

फाल्गुन २९, २०८१ |खेल ब्युरो
अल इंग्ल्यान्ड ओपन ब्याडमिन्टन च्याम्पियनसिप : उपाधि दावेदार भिक्टर एक्सेलसेनको अप्रत्यासित हार

काठमाडौं । उपाधि दावेदार डेनमार्कका भिक्टर एक्सेलसेनले अल इंग्ल्यान्ड ओपन ब्याडमिन्टन च्याम्पियनसिपमा अप्रत्यासित हार बेहोरेका छन् ।

पहिलो चरणको प्रतिस्पर्धामा, एक्सलसेन ताइवानका लिन चुन यी सँग तीन सेटमा स्तब्ध भएका हुन् । जारी प्रतियोगितामा पहिलो चरणको यो अहिलेसम्मको ठुलो अप्रत्यासित नतिजा हो ।

प्रतिस्पर्धात्मक बनेको पहिलो सेट चुन यी ले २१-१९ ले आफ्नो पक्षमा पारेका थिए । दोस्रो सेटमा ३१ वर्षीय एक्सलसेनले पुनरागमन गरे । उनले सहजै २१-१३ ले यो सेट जितेपछि अन्तिम १६ मा स्थान बनाउने अनुमान गरिएको थियो । तर तेस्रो सेट उनको पक्षमा रहेन् ।

चुन यी ले २१ -११ को सनसनीपुर्ण जित हात पारेपछि एक्सलसेनको यात्रा पहिलो चरणमानै समाप्त भयो । हारपछि एक्सलसेनले डेनिस टेलिभिजन संगको अन्तरवार्ताका क्रममा केही समय खेलबाट विश्राम लिने बताएका छन् । 

अन्य खेलमा विश्व नम्बर तीन आन्द्रेस एन्टोनसेन दोस्रो चरण प्रवेश गरेका छन् । डेनिस खेलाडीले ताइवानकै चि यु जेनलाई २१-१५, २१ -८ को सोझो सेटमा हराए ।

थाइल्यान्डका ओलम्पिक पदक विजेता कुन्लाभट भिटिडसार्नले पनि अघिल्लो चरणमा स्थान सुरक्षित गरेका छन् । उनले चीनका वेङ हङयाङलाई २२-२०, २१-११ को सेटमा पराजित गरेका हुन् ।



Enter Kantipur TV HD
Advertisement