काठमाडौं । नवौ संस्करणको विराट गोल्डकपको उपाधि थ्रि स्टार क्लबले जितेको छ । थ्रि स्टारले फाइनलमा चर्च ब्वाइजलाई २-० गोलले पराजित गरेको हो ।
थ्रि स्टारको सिजनको यो पहिलो उपाधि हो । विराटनगरको सहिद रंगशालामा गएराति भएको खेलमा थ्रि स्टारले पाँचौ मिनेटमा नै अग्रता लिएको थियो ।
उसका लागि खेमराज श्रेष्ठले, नविन लामाको क्रसमा गोल गरेका हुन् । पहिलो हाफमा थ्रि स्टारले आफ्नो अग्रता जोगाउँदा चर्च ब्वाइजले पुनरागमनको प्रयास गर्यो । तर ब्रेकपछि थ्रि स्टारले अग्रता दोब्बर बनायो ।
६३औं मिनेटमा दिपेश घलेले गोल गरेपछि २-० ले पछि परेको चर्च ब्वाइज खेलमा र्फकन सकेन् । दिपेश घलेले वान भर्सेस वानमा डिबक्स भित्रबाट गरेको प्रहार चर्च ब्वाइजका गोल रक्षक टिकेन्द्र थापालाई लागेर फर्किएको थियो । दिपेशले रिबाउन्डमा गोल गरेका हुन् ।
थ्रि स्टारको यो तेस्रो विराट गोल्डकप उपाधि हो । उपाधिसँगै थ्रीस्टारले नगद ११ लाख रुपैयाँ र उप-बिजेता चर्च ब्वाइजले ५ लाख पुरस्कार प्राप्त गरे । विधागत पुरस्कारमा पनि थ्रीस्टारको बर्चश्व कायम भयो ।
थ्रि स्टारका खेमराज मोस्ट भ्यालुएबल प्लेयर बने । उत्कृष्ट गोलकिपर विवेक मगर, हाइस्कोर थ्रीस्टारका दिपेश घले बने । प्रतियोगिताभरिमा उनले दुई गोल गरेका थिए । उत्कृष्ट प्रशिक्षक पनि थ्रीस्टारकै गणेश खड्का चुनिए ।