क्रिकेट संघको केन्द्रीय सम्झौतामा ५२ खेलाडी, पुरुषतर्फ दुई जना थपिँदा महिलातर्फ पूजा महतोको बढुवा

फाल्गुन २८, २०८१ |खेल ब्युरो
क्रिकेट संघको केन्द्रीय सम्झौतामा ५२ खेलाडी, पुरुषतर्फ दुई जना थपिँदा महिलातर्फ पूजा महतोको बढुवा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले पुरुष र महिला खेलाडीको नयाँ सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ । पुरुषतर्फ विगत एक वर्षको प्रदर्शनको आधारमा क्यानले ए, बी, सी र डी ग्रेड तथा इमर्जिङ खेलाडी सहित ३३ खेलाडीलाई केन्द्रीय सम्झौतामा अनुबन्धित गरेको हो । खेलाडीको परिश्रमिकमा भने कुनै फेरबदल गरिएको छैन ।

ग्रेड ‘ए’मा कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी र आसिफ शेख परेका छन् । यसअघि ए ग्रेडमा रहेका करण केसी र कुशल भुर्तेललाई बी श्रेणीमा झारिएको छ । ए ग्रेडमा रहेका पाँच खेलाडीले मासिक १ लाख रुपैयाँ तलब पाउने छन् । ग्रेड ‘बी’मा पाँच जनालाई समावेश गर्दा गुल्सन झा र ललित राजवंशी मात्र यस ग्रेडमा यथावत् छन् । 

यसअघि ग्रेड ‘डी’मा रहेका अनिल साह ‘बी’मा उक्लिएका छन् । ‘बी’ ग्रेडका खेलाडीहरूले मासिक ७० हजार पाउँछन् । आरिफ सेख, भीम सार्की र कुशल मल्ल ‘सी’ ग्रेडमा झरेका छन् ।

ग्रेड ‘सी’मा सन्दीप जोरा यथावत् रहँदा प्रतीश जीसी ‘डी’मा झरेका छन् । नेपाल ‘ए’ टिमका कप्तान विनोद भण्डारी र अर्जुन साउदलाई सम्झैताभन्दा बाहिर राखिएको छ । यी दुवै खेलाडी यसअघि ‘सी’ ग्रेडमा थिए । क्यानले ग्रेड ‘डी’मा १२ खेलाडीलाई समावेश गरेको छ । यसअघि यस श्रेणीमा ७ खेलाडी थिए । अघिल्लो पटक ‘डी’ ग्रेडमा रहेका पवन सर्राफमाथि क्यानले यस पटक रुचि देखाएन । 

लोकश बम र मयन यादव ‘डी’ ग्रेडमा पर्दै पहिलो पटक केन्द्रीय सम्झौतामा अटाएका छन् । सागर ढकाल, विवेक यादव, आकास चन्द, बसिर अहमद र सूर्य तामाङ ग्रेड ‘डी’मा यथावत् रहँदा देव खनाल र रिजन ढकाल इमर्जिङ खेलाडीबाट ‘डी’ ग्रेडमा समावेश भएका छन् ।

इमर्जिङ खेलाडीमा अर्जुन कुमाल र सन्तोष यादव पहिलो पटक समावेश भए भने दीपेश कँडेल, हेमन्त धामी, रूपेश सिंह र अर्जुन घर्तीले इमर्जिङ खेलाडीको सम्झौता सुरक्षित गरेका छन् । ग्रेड ‘सी’का खेलाडीले मासिक ५५ हजार, ‘डी’ ले ३५ हजार र इमर्जिङ ग्रेडका खेलाडीले मासिक २५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

यस्तै कुल १९ खेलाडीलाई चार श्रेणीमा वर्गीकरण गर्दै क्यानले महिलाको पनि सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ ।

अन्डर-१९ टिमकी कप्तान पूजा महतो ‘ए’ ग्रेडमा उक्लिएकी छन् । पूजा यसअघि ‘सी’ ग्रेडमा थिइन् । सिनियर टिमकी कप्तान इन्दु बर्मा सहित रुविना क्षेत्री र सीता राना मगर ग्रेड ‘ए’ मा यथावत् छन् । ग्रेड ‘बी’ मा कविता जोशी मात्र छिन् । कविता ‘डी’बाट ‘बी’ ग्रेडमा उक्लिएकी हुन् । 

ग्रेड ‘सी’मा कविता कुँवर र सम्झना खड्का छिन् । सम्झनाले आफ्नो ग्रेड सुधार गर्दा कविता ‘बी’ बाट ‘सी’मा झरेकी हुन् । ग्रेड ‘डी’ मा १२ खेलाडी समेटिए । जसमा राष्ट्रिय टिमकी बिन्दु रावल, रोमा थापा र इश्वरी विष्ट छन् भने अन्डर- १९ टिमका नौ खेलाडी पहिलो पटक केन्द्रीय सम्झौतामा परे । 

जसमा एलिसा यादव, सना प्रविन, रिया शर्मा, सिमाना केसी, सावित्री धामी, कृष्मा गुरुङ, ज्योत्स्निका मरासिनी, रचना चौधरी र मनीषा उपाध्याय छन् । यीमध्ये केही खेलाडीले सिनियर टिमबाट डेब्यू गरिसकेका छन् । क्यानले महिला खेलाडीको पारिश्रमिकमा भने कुनै परिवर्तन गरेको छैन । क्यानका अनुसार ग्रेड ‘ए’का खेलाडीले मासिक ५० हजार रुपैयाँ, ‘बी’ले ३५ हजार, ‘सी’ले २५ हजार र ‘डी’ले २० हजार रुपैयाँ पाउने छन् ।



Enter Kantipur TV HD
Advertisement