काठमाडौं । अमेरिकी खेलाडी कोको गफ इन्डियन वेल्स टेनिसको अन्तिम १६ मा प्रवेश गरेकी छन् । ग्रिसकी मारिया सक्कारीलाई सोझो सेटमा पराजित गर्दै गफले प्रिक्वार्टरफाइनलमा स्थान सुरक्षित गरेकी हुन् ।
गफले सक्कारीलाई ७-६ र ६-२ को सेटमा पराजित गरेकी हुन् । गत वर्ष सेमिफाइनलमा सक्कारीसँग पराजित भएकी गफले यसपटक भने बदला लिइन् ।
तेस्रो वरीयताकी गफ खेलको अन्तिम क्षणसम्म राम्रो लयमा देखिएकी थिइन् । तर, खेलको अन्त्यतिर लगातार ६ वटा डबल फल्ट गर्दा छैठौं म्याच पोइन्टपछि मात्र जित हात पारेकी थिइन् । गफले अब क्वार्टरफाइनल प्रवेशका लागि स्वीट्जरल्यान्डकी बेलिन्डा बेन्चिचसँग प्रतिस्पर्धा गर्नेछिन् ।
उनीसँगै अर्की अमेरिकी खेलाडी म्याडिसन किज बेल्जियमकी एलाइज मर्टेन्सलाई ६-२, ६-७ र ६-४ ले हराउँदै चौथो चरणमा प्रवेश गरिन् ।