काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाईज युनाइटेड विराटनगरमा जारी नवौँ संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
विराटनगरस्थित सहिद मैदानमा गएराति भएको सेमिफाइनल खेलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई १-० गोलले हराउँदै चर्च ब्वाईज उपाधिनजिक पुगेको हो ।
७०औँ मिनेटमा लाक्पा पाख्रिनले गरेको गोल नै चर्च ब्वाईजको जितका लागि निर्णायक बन्यो । विदेशी खेलाडी एबायोमीले निकालेको लामो पासलाई लाक्पाले गोलमा परिणत गरेका थिए । जितसँगै चर्च ब्वाईजले उपाधिको लागि बुधबार थ्री स्टारको सामना गर्नेछ ।
थ्री स्टार विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ३-२ गोलले हराउँदै फाइनलमा पुगेको हो । चर्च ब्वाईजले क्वार्टरफाइनलमा एनआरटीलाई २-० गोलले हराएको थियो ।
विराट गोल्डकपको विजेताले ११ लाख र उपविजेताले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन् ।