काठमाडौं । पेनाल्टीमा विभागीय टोली एपीएफलाई हराउँदै संकटा क्लब केपी ओली कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । सातदोबाटोको एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो। पेनाल्टीमा संकटा ५-३ ले विजयी भएको हो।
दोस्रो मिनेटमा नै संकटाका म्याक क्रिस भोउजनले डिन डिफेन्डरलाई छक्क्याएर पोस्टअघिबाट प्रहार गरे पनि गोलकिपर अन्जल श्रेष्ठले बल सहजै नियन्त्रणमा लिएका थिए । १८औं मिनेटमा विके लामाले दायाँतिरबाट निकै शक्तिशाली प्रहार गरे पनि पोस्टको फ्रेममै पर्न सकेन ।
२२औं मिनेटमा भोउजनको अर्को प्रयास पनि खेर गएको थियो । उनले सृजनराज गौतमको पासमा गोलको प्रयास गरेका थिए । दुवै टिमले गोल गर्न नसकेपछि खेल टाइब्रेकरमा पुग्यो ।
संकटाका लागि राम थापा, सुनिल खड्का, सन्तोष खत्रीले सुरुआतमै गोल गरे । एपीएफका लागि सुमन श्रेष्ठ, दिपेश धिमाल र मणिकुमार लामाले गोल गरेपछि पेनाल्टी ३-३ को बराबरीको अवस्थामा पुगेको थियो ।
तर, त्यसपछि एपीएफका सुजन पुलामीको प्रहार दीप कार्कीले बचाए । संकटाका साम कार्लोस र दीप आफैंले गोल गरेर संकटालाई जित दिलाएका हुन् । संकटाले पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मीको सामना गर्नेछ ।