काठमाडौं । सातौं संस्करणको बागमती गोल्डकपको उपाधि चर्च ब्वाइज क्लबले जितेको छ । सोमबार बागमतीको शहीद स्मृति रंगशालामा भएको फाइनल खेलमा साविक विजेता मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै चर्च ब्वाइजले उपाधि हात पारेको हो ।
चर्च ब्वाइजलाई उपाधि दिलाउने क्रममा समीर तामाङ नायक बने । उनले खेलको ४७ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । खेलको ‘म्यान अफ द म्याच’ पनि समीर घोषित भए । उपाधिसँगै चर्च ब्वाइजले १० लाख रुपैयाँ जितेको छ भने उपविजेता मच्छिन्द्रले ५ लाख रुपैयाँमा चित्त बुझायो ।
चर्च ब्वाइजले पहिलो सहभागितामै गोल्डकपको उपाधि जितेको हो । सेमिफाइनलमा मच्छिन्द्रले थ्री स्टारलाई र चर्च ब्वाइजले एपीएफलाई हराउँदै फाइनलमा प्रवेश गरेका थिए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चर्च ब्वाइजका सन्तोष खत्री घोषित भए । उनले एक लाख एक हजार रुपैयाँ प्राप्त गरे ।
गोलरक्षक चर्च ब्वाइजका टेकेन्द्र थापा, डिफेन्डर मच्छिन्द्रका देवेन्द्र तामाङ, मिडफिल्डर मच्छिन्द्रकै रोशन राना मगर, फर्वार्ड चर्च ब्वाइजका समीर तामाङ र प्रशिक्षकमा चर्च ब्वाइजका सुमन श्रेष्ठ उत्कृष्ट घोषित भए । विधागत उत्कृष्ट सबैले जनही २५-२५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।