काठमाडौं । उर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई जिम्मेवारीबाट किन नहटाउने भन्दै २४ घण्टे स्पष्टीकरण सोध्नु भएको छ ।
आज भएको मन्त्रीस्तरीय निर्णयबाट घिसिङलाई हटाउने उद्देश्यसहित मन्त्री खड्काले स्पष्टीकरण सोध्नु भएको हो । मन्त्रालयले पुस २२ गते सोधेको स्पष्टीकरणमा घिसिङबाट पुस २८ मा आएको जवाफ चित्तबुझ्दो र वस्तुगत नभएको जनाउँदै 'कार्यकारी निर्देशकको पदबाट किन नहटाउने ?' भनी प्रश्न गरेको छ ।
घिसिङलाई २४ घण्टाभित्र दुई वटा प्रश्नको जवाफ दिन मन्त्रालयले स्पष्टीकरण पत्रमा लेखेको छ ।
पत्रमा गत माघ ३० गते भारतको नयाँ दिल्लीमा भएको नेपाल-भारत द्विपक्षीय विद्युत विनिमय समितिको बैठकमा नेपाली प्रतिनिधिमण्डलको टोलीनेताको हैसियतमा त्यसतर्फ जाँदा कुन निकायको स्वीकृति लिएर जानुभएको हो ? भनी त्यसको जवाफ दिन भनिएको छ ।
उर्जा सचिव सुरेश आचार्यले हस्ताक्षर गरेको स्पष्टीकरण पत्रमा घिसिङलाई आन्तरिक भ्रमण काज, विदा वा अन्तर्राष्ट्रिय भ्रमण काजमा जाँदा नेपाल विद्युत प्राधिकरणको सञ्चालक समिति अध्यक्ष एवं उर्जामन्त्री खड्काको स्वीकृति नलिएको विषयमा पनि जवाफ दिन भनिएको छ ।
उर्जामन्त्री खड्का नियुक्त भएदेखि नै मन्त्री खड्का र प्राधिकरणका कार्यकारी निर्देशक घिसिङबीचको विवाद सतहमै देखिँदै आएको छ । कमर्चारी सरुवा-बढुवा र डेडिकेटेड ट्रंक लाइनको वक्यौताको विषयमा मन्त्री खड्का र कार्यकारी निर्देशक घिसिङबीच मतैक्य छैन । मन्त्री खड्काले अहिलेसम्म घिसिङलाई योसहित ४ पटक स्पष्टीकरण सोधिसक्नु भएको छ ।