तनहुँ । तनहुँका ऋषिङ्ग गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले पूर्वसांसद पदमबहादुर आलेका छोरा प्रभात आलेमाथि कुटपिट गर्नुभएको छ । अध्यक्ष श्रेष्ठले भीमाद-६ मालेबगर पुरानो स्कुलको निजी निवासमा सल्लाह गर्न बोलाएर आफूलाई कुटेको आलेले बताउनुभयो ।
मालेबगरेको जग्गामा बाटो लैजाने भद्र सहमतिलाई अध्यक्ष श्रेष्ठले तोडेको भन्दै विवाद भएपछि घरमा सल्लाह गर्न बोलाएको र त्यहाँ पुगेपछि कंक्रिट भरिएको पीभीसी पाइपले कुटेको पीडित आलेको भनाइ छ ।
कुटपिटबाट आलेको बायाँ कानको श्रवणशक्ति गुमेको छ भने शरीरमा खाटो बसेकाले थप उपचार र स्वास्थ्य परीक्षणका लागि जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारा तनहुँले पोखरा रेफर गरेको छ ।
अध्यक्ष श्रेष्ठले भने आफूले कुटपिट नगरेको र आफूमाथि जाइलाग्दा आत्मरक्षा गरेको बताउनुभयो । गत बुधबार आलेले टेलिफोन गरेर मुख छोडेको र घर आएर लफडा गरेको अध्यक्ष श्रेष्ठको भनाइ छ । “मैले कुटपिट गरेको होइन, प्रभात आफैं भुइँमा लडेको हो”, उहाँले भन्नुभयो ।
यता आलेले आफूमाथि कुटपिट भएको भन्दै इलाका प्रहरी कार्यालय बेलचौतारीमा दिएको जाहेरी प्रहरीले लिन मानेको छैन । जाहेरी दर्ता गर्न जाँदा ‘स्वास्थ्य उपचार गरेर निको हुनुहोस्’ भनेर जाहेरी फिर्ता पठाइएको आलेको गुनासो छ ।
प्रहरी निरक्षक पोषण थापाले भने घटनाका बारे बुझिरहेको, घाउ परीक्षण गर्न पठाएको र आलेको ठाडो निवेदन लिइएको जानकारी दिनुभयो । कुटपिट गर्ने अध्यक्ष श्रेष्ठ नेपाली कांग्रेस तनहुँका उपसभापति समेत हुनुहुन्छ ।