बाँके । अनियन्त्रित भएर भ्यान घरभित्र छिर्दा नेपालगन्जमा एक जना बालकको मृत्यु भएको छ । घटनामा अन्य तीन जना घाइते भएका छन् ।
नेपालगन्ज उपमहानगरपालिका– १२ बेलासपुरस्थित पार्किङमा रहेको भे१च ३८९५ नम्बरको पिकअप भ्यान निकाल्ने क्रममा अनियन्त्रित भएर स्थानीय सञ्जय सिलवालको घरमा छिरेको थियो । त्यस क्रममा ६ वर्षीय बालक दृश्यसिंह बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । घटनामा ४३ वर्षीय सञ्जय सिलवाल पनि घाइते भएका छन् । उनको नेपालगन्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेसमा उपचार भइरहेको छ । उनको खुट्टा भाँचिएको छ ।
यस्तै घाइते अन्य दुई जनामा ६ वर्षीया सृष्टि गौतम र ८ वर्षीय सञ्जीव सिलवाल रहेका छन् । उनीहरूको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले भ्यान चालक कोहलपुर नगरपालिका–२ बस्ने २३ वर्षीय सुरज थारू र नेपालगन्ज उपमहानगरपालिका–१३ बुलबुलिया बस्ने ३८ वर्षीय लियाकत अलीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।