काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा आज नेपाल र म्यानमारबीच भएको खेल बराबरीमा सकिएको छ । यसअघि नै फाइनल प्रवेश गरिसकेका दुवै टोलीले आज लिगको अन्तिम खेल खेलेका थिए ।
खेल २-२ गोलको बराबरीमा सकिएको हो । खेलको चारै गोल पहिलो हाफमा गरिएको थियो ।
म्यानमारका लागि खेलको छैटौं मिनेटमा म्याट नोइ खिनले गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन् । तर खेलको ११ औं मिनेटमा नेपालकी सविता राना मगरले गोल गर्दै स्कोर बराबरी पारेको थिइन् । पुनः १७ औं मिनेटमा म्यानमारकी मे तेत लुले गोल गर्दै खेल २-१ को स्थितिमा पुर्याए पनि पहिलो हाफको उत्तरार्धतिर ४१ औं मिनेटमा नेपालकी सावित्रा भण्डारीले गोल गर्दै खेललाई २-२ को स्थितिमा पुर्याइन् ।
यसपछि दोस्रो हाफमा दुवै टिमले गोल गर्न सकेनन् । योसँगै प्रतियोगितामा नेपाल अपराजित रहँदै फाइनल प्रवेश गरेको छ ।
खेलमा सावित्रा भण्डारी प्लेयर अफ द म्याच बनिन् ।