काठमाडौं । महाशिवरात्रीमा काठमाडौंको पशुपतिनाथ परिसर निकै नै झकिझकाउ हुने गरेको छ । करिब २५ लाख दर्शनार्थीले शिवरात्रिका दिन पशुपतिनाथको दर्शन गर्ने गर्दछन् । यसपालि भारतको उत्तरप्रदेशको प्रयागराजमा महाकुम्भ चलिरहेकाले पनि दर्शनार्थीको भीड बढ्ने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
बुधबारको शिवरात्रिका लागि पाशुपत क्षेत्रमा भक्तालुहरूको भीड लाग्न थालिसकेको छ । फागुन १४ गते बुधबार परेको महाशिवरात्रि पर्वका लागि के कस्तो तयारी छ ?
पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिका लागि व्यवस्थापन कार्यलाई तीव्रता दिएको छ । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा हुने भीडभाडलाई सुरक्षित एवं व्यवस्थित गर्न पशुपति क्षेत्र विकास कोषले १ करोड ५० लाख रुपैयाँ खर्च छुट्याएको छ । साधु सन्तको बसोवास/भोजन, दर्शनार्थीलाई सहज रूपमा आवतजावत, पाशुपत क्षेत्रमा रङरोगन तथा फूल र बत्ती र शृङ्गारमा खर्च गरिने कोषले जनाएको छ ।
महाशिवरात्रिको तयारीसँगै अहिले पशुपति क्षेत्रका शिवालय, देवालय, मठमन्दिरहरूको सरसफाइ र रङ रोगनको काम सुरू गरिएको चल्दैछ । जसका लागि बोलपत्र आह्वान गरेर ४० लाख रुपैयाँमा ठेक्का लगाइएको हो । त्यस्तै यस क्षेत्रमा झिलिमिली बत्ती र अन्य विद्युतीय शृङ्गारका लागि मात्रै कोषले २० लाख रुपैयाँ खर्चिएको छ । महाशिवरात्रिमा फूलको प्रयोग बढी हुने गरेको छ । यहाँ प्रयोग हुने फूल सबै भारतबाट आयात गरिन्छ । यसका लागि पनि बोलपत्र आह्वान गरिएको छ । यसपटक कोषले २० लाख रुपैयाँको फूल सजवाटका लागि ठेक्का प्रदान गरेको छ ।
त्यस्तै शान्ति सुरक्षाका लागि करिब ७ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने छन् । सोमबारदेखि नै विभिन्न साधु बाबाहरू र धर्म गुरु तथा भक्तालुहरूको भीड लाग्न थालिसकेको छ । यस वर्ष भारतको प्रयागमा चलिरहको महाकुम्भ मेला दर्शन गरेर शिवरात्रिमा पशुपतिनाथको दर्शनका लागि धेरै भक्तजन आउने अनुमान समेत गरिएको कोषले जनाएको छ । भारतको तीर्थस्थल केदारनाथ लगायतका स्थानबाट जल चढाउन पनि भक्तजनहरू आउनेछन् ।
महाशिवरात्रिमा भारत, मलेसिया, बंगालादेश लगायत मुलुकबाट पनि भक्तजनहरू आउने गर्दछन् । जसले गर्दा आन्तरिक र बाह्य पर्यटन संख्या बढ्नुका साथै आन्तरिक अर्थतन्त्र चलायमान हुने अपेक्षा गरिएको छ ।