युक्रेनप्रति ऐक्यबद्धता जनाउन युरोपेली संघ र क्यानडाका नेताहरू किएभमा

युक्रेनलाई थप अर्बौं रकमको सैन्य सहयोग घोषणा
फाल्गुन १२, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
युक्रेनप्रति ऐक्यबद्धता जनाउन युरोपेली संघ र क्यानडाका नेताहरू किएभमा

काठमाडौं । रूस-युक्रेन युद्ध तीन वर्ष पूरा गरेर चौथो वर्षमा प्रवेश गरिरहँदा युरोपेली संघ र क्यानडाका नेताहरू सुरक्षा खतराका बीच ऐक्यबद्धता जनाउन युद्धग्रस्त युक्रेनको किएभ पुगेका छन् ।

युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयेन, क्यानडाली प्रधानमन्त्री जस्टिन ट्रुडो, स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजका साथै डेनमार्क, स्टोनिया, फिनल्यान्ड, आइसल्यान्ड, लाटभिया, नर्वे, स्वीडेन लगायत १३ देशका नेता किएभ पुगेका हुन् । यसका अतिरिक्त अल्बानिया, बेलायत, जर्मनी, जापान, नेदरल्यान्ड्स, पोल्यान्ड, स्वीट्जरल्यान्ड र टर्कीए लगायत देशका नेताहरूले भिडिओ लिंक मार्फत् किएभमा आयोजित शीर्ष नेताहरूको बैठकमा सहभागिता र ऐक्यबद्धता जनाएका छन् । बैठकमा अमेरिकी प्रतिनिधित्व भने नभएको जनाइएको छ ।

शिखर बैठकलाई सम्बोधन गर्दै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पुटिनले सुरू गरेको आक्रमणको तीन वर्ष पूरा हुँदा पनि युक्रेन जीवित रहेको, लडिरहेको र विश्वमा पहिलेभन्दा धेरै मित्र कमाएको बताउनुभएको थियो । यस्तै युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेरले युक्रेनको भविष्य मात्र नभई यूरोपकै भविष्य जोखिममा रहेको टिप्पणी गर्नुभएको थियो ।

रूस-युक्रेन युद्धको तीन वर्ष पूरा भएको अवसर पारेर युक्रेनका मित्र राष्ट्रहरूले उसलाई थप सैनिक र मानवीय सहायताको घोषणा समेत गरेका छन् । युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेरले युक्रेनलाई ईयूले थप साढे तीन अर्ब यूरो सैन्य सहायता दिने घोषणा गर्नुभएको छ । यो रकम युद्ध सुरू भएयता ईयूले दिएको १३५ अर्ब यूरोमा थप हो ।

यस्तै स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले पनि युक्रेनलाई थप एक अर्ब यूरोको सैन्य र उपकरण सहयोग गर्ने घोषणा गर्नुभएको छ । यसैगरी क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले युक्रेनलाई थप सैन्यवाहन, लडाकु विमान अवतरण प्रणालीका साथै ठूलो संख्यामा गोलाबारूद प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । यस्तै डेनमार्क,नर्वे, स्वीडेन र फिनल्यान्डले युक्रेनलाई थप सैन्य, ऊर्जा र मानवीय सहयोगको घोषणा गरेका छन् ।

भिडिओ लिंक मार्फत् सम्बोधन गर्दै बेलायती प्रधानमन्त्री केइर स्टार्मरले युक्रेन असफल भएको अवस्थामा अर्को पालो यूरोपको हुने भन्दै आफूहरू सदैव युक्रेनको साथमा खडा रहने प्रतिबद्धता जनाउनु भएको थियो ।



Enter Kantipur TV HD
Advertisement