काठमाडौं । बुढासुब्बा गोल्डकपको उपाधि जितेको दुई हप्तापछि एनआरटीका प्रशिक्षक हरिओम श्रेष्ठको निधन भएको छ । नेपाली टिमका पूर्व खेलाडी तथा उमेर समूहको विभिन्न टोलीमा प्रशिक्षण गरेका श्रेष्ठको आज बिहान निधन भएको हो ।
हृदयघातको कारण उनको निधन भएको हो । दुई हप्ताअघि बुढासुब्बा गोल्डकपको समयमा उनलाई हृदयघात भएको थियो । सो प्रतियोगिताको फाइनलमा चर्च बोइजलाई हराउँदै एनआरटीले उपाधि जितेको थियो । हरिओमको धरानमा केही समय उपचार गरेर उनलाई काठमाडौंको गंगालाल अस्पताल ल्याइएको थियो ।
स्वास्थ्यमा सुधार आएपछि उनले डिस्चार्ज पाएका थिए । तर ५४ वर्षे उनको स्वास्थ्यमा अचानक समस्या आएपछि शनिबार बिहान वीर अस्पताल लगिएको थियो । उपचारको क्रममा उनको निधन भएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जानकारी दिएको हो ।
उनले नेपालको ‘ए’ डिभिजन लिगको क्लब र उमेर समूहको टोली सम्हालेका थिए । उनको प्रशिक्षणमा नेपाली यू-१९ महिला टिम महिला यू-१९ साफ च्याम्पियनसिपको उपविजेता बनेको थियो । उनको परिवारमा श्रीमती र दुई छोरी छन् ।