अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : पहिलो हाफमा नेपालको अग्रता

फाल्गुन ५, २०८१ |खेल ब्युरो
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : पहिलो हाफमा नेपालको अग्रता

काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप अन्तर्गत नेपाल र किर्गिस्तानबीच अहिले खेल जारी छ । खेलको पहिलो हाफ सकिँदा नेपाल १-० गोल अन्तरले अगाडि छ ।

नेपालका लागि खेलको १० औं मिनेटमा विमला चौधरीले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । त्यसअघि खेलको छैटौं मिनेटमा रेखा पौडेलले पोस्ट नजिकैबाट गरेको प्रहार गोलकिपरले बचाएकी थिइन् । रिबाउन्ड बलमा रश्मी गोलमा चुकिन् । उनको प्रहार पहिलो बार नजिकैबाट बाहिरिएको थियो ।

तर १० औं मिनेटमा भने नेपालले गल्ती गरेन । सविता राना मगरको लामो क्रसमा विमला चौधरीको हेडर गोलमा परिणत भएको थियो ।

खेलको २१ औं मिनेटमा पनि सविताले अर्को उत्कृष्ट क्रस गरिन् । सविताको पासमा रश्मीको प्रहार फेरि पोस्ट बाहिर पुगेको थियो । खेलको ४० औं मिनेटमा रेखा पौडेलको प्रहार क्रसबारको नजिकैबाट बाहिरिएको थियो ।

सावित्रा भण्डारी आज बिहान मात्रै नेपाल आएको कारण उनलाई प्रशिक्षकले बेन्चमा राखेका थिए । नेपालको सुरूआती ११ मा गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बासँगै डिफेन्डर गीता राना, पूजा राना, विमला विक, निशा थोकर छन् । टिममा प्रिती राई, रेनुका नगरकोटे, सविता राना मगर, विमला चौधरी, रश्मी घिसिङ र रेखा पौडेललाई प्रशिक्षकले सुरूआती ११ मा राखेका थिए ।



Enter Kantipur TV HD
Advertisement