काठमाडौं । भारतको प्रयागराजमा भएको महाकुम्भ मेलामा हजारौं नेपाली पुगेका छन् । सर्वसाधारण, सरकारी अधिकारीदेखि राजनीतिक दलका नेता कार्यकर्ताको समेत महाकुम्भ मेलामा लस्कर लागेको छ ।
गत पुसको अन्तिम साताबाट सुरू भएको यो महाकुम्भ मेला फागुन १४ गते बुधबार शिवरात्रिसम्म चल्नेछ । ४५ दिन चल्ने यो मेलामा अहिले नेपालका हिन्दू धर्मावलम्बीहरू गंगा, यमुना र सरस्वती नदीको संगम प्रयागराजमा पुगेर स्नान गरिरहेका छन् । यहाँ स्नान गर्दा पापमोचन हुने र आत्माशुद्ध हुने जनविश्वास छ ।
सुरूमा करिब ४० करोड तीर्थयात्रीले स्नान गर्ने अनुमान गरिएकोमा अहिलेसम्म ५५ करोड भक्तजनहरू महाकुम्भ मेलामा पुगिसकेका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । ज्योतिषशास्त्र अनुसार ग्रह र ताराहरू एकै लहरमा पंक्तिबद्ध मिलेकाले यस पटक महाकुम्भ परेको हो । हरेक १२ वर्षमा कुम्भ मेला र करिब १४४ वर्षपछि महाकुम्भ मेला पर्ने बताइएको छ ।
भारत सरकारले महोत्सव आयोजना गर्न ७० अर्ब भारतीय रुपैयाँ खर्च गरेको छ । मेलाबाट उत्तर प्रदेश राज्य सरकारले २ खर्ब ५० अर्ब राजस्व कमाउने आकलन गरिएको छ ।