काठमाडौं । चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला च्याम्पियसिप भोलिबाट काठमाडौंमा सुरू हुँदैछ । घरेलु टिम नेपालले आफ्नो पहिलो खेलमा किर्गिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।
नेपाल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाले प्रतियोगितालाई आफ्नै मैदानमा उपाधि जित्ने सुनौलो अवसरका रूपमा लिएको बताइन् । ग्रीसको क्लबमा व्यावसायिक फुटबल खेलिरहेकी एन्जिलाले आज भएको प्रि-म्याच प्रेस कन्फरेन्समा बोल्दै टिमले साफमा गरेको गल्ती सच्याउँदै तयारी गरिरहेको उल्लेख गरिन् ।
एन्जिलाले अहिले विशेष गरी डिफेन्स र गोलकिपिङमा अभ्यास केन्द्रित भएको पनि बताइन् । गत कात्तिकमा नेपाल साफ च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँग चुकेको थियो । त्यसपछि नेपालले पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दैछ । घरेलु मैदानमा भएको साफको फाइनलमा हारेपछि प्रशिक्षक राजेन्द्र तामाङले पदबाट राजीनामा दिएका थिए । अहिले पुनः तामाङ नै मुख्य प्रशिक्षकको भूमिकामा फर्किएका छन् । उनले किर्गिस्तान बलियो टिम भएको पनि बताए ।
नेपालले ६ वर्षअघि किर्गिस्तानलाई ८-० गोलले पराजित गरेको थियो । त्यसपछि पहिलो पटक खेल्दैछ ।
च्याम्पियनसिपका लागि दुबईबाट रेखा पौडेल पनि नेपाल आइसकेकी छिन । सावित्रा भण्डारी भोलि बिहान मात्र काठमाडौं अवतरण गर्ने छिन् । प्रशिक्षक तामाङले सावित्रालाई भोलिको खेलमा भने आराम दिने बताएका छन् ।
किर्गिस्तानका मुख्य प्रशिक्षक नेमात्जाहन जाकिरोभले नेपालसँगको पहिलो खेलमा उल्लेख्य समर्थकको अपेक्षा रहेको बताए । यो प्रतियोगिता आफ्ना खेलाडीका लागि एक्सपोजरको सुनालौ मौका भएको उनको भनाइ थियो । नेपाल किर्गिस्तानबीचको खेल साँझ ६ बजे सुरू हुनेछ ।
प्रतियोगिताको उद्घाटन खेलमा भने म्यानमार र लेबनान आमनेसामने हुनेछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल दिउँसो २ बजेबाट सुरू हुनेछ । लेबनानका मुख्य प्रशिक्षक वाएल घार्जेदिनले यो प्रतियोगितालाई एसियन महिला कप क्वालिफायरको तयारीका रूपमा लिएको बताए ।
सहभागी टिममध्ये म्यानमार सबैभन्दा बलियो छ । म्यानमारका मुख्य प्रशिक्षक तेत्सुरु युकीले उपाधि जित्ने लक्ष्य सहित नेपाल आएको बताए । फिफा वरीयतामा म्यानमार ५५ औं स्थानमा छ । लेबनान १३४, किर्गिस्तान १२८ र नेपाल १०३ स्थानमा छ ।
अखिल नेपाल फुटबल संघ एन्फाले फिफा विन्डोमा च्याम्पियनसिप आयोजना गरेको हो । लिगको शीर्ष दुईमा रहने टिमबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । खेलको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्स एचडीबाट हुनेछ ।