सलेश क्लब बन्यो बागमती यू–२० गर्ल्स सेभेन्स नेसनल रग्बीको विजेता

फाल्गुन ७, २०८१ |खेल ब्युरो
सलेश क्लब बन्यो बागमती यू–२० गर्ल्स सेभेन्स नेसनल रग्बीको विजेता

काठमाडौं । कोशी प्रदेशको सलेश युवा क्लबले पहिलो संस्करणको बागमती यू–२० गर्ल्स सेभेन्स नेसनल रग्बी च्याम्पियनसिपको उपाधि जितेको छ । मघ्यपुर युथ एसोसिएसनको खेल मैदानमा बुधबार सम्पन्न फाइनलमा सलेशले कर्णाली रग्बीलाई १०–० स्कोरले पराजित गर्दै उपाधि जितेको हो ।

उपाधिसँगै सलेशले ५० हजार रुपैयाँ प्राप्त गर्‍यो । कर्णालीले भने उपविजेता बन्दै ३० हजार रुपैयाँ प्राप्त गर्‍यो ।

खेलको पहिलो हाफमै सलेशले एक ट्राई मार्फत ५–० को अग्रता लिएको थियो । दोस्रो हाफमा पनि सलेशले समान स्कोर गर्दै एकपक्षीय जित निकाल्न सफल रह्यो । सलेशलाई च्याम्पियन बनाउन आरूषी भट्टराईले दुवैपल्ट ट्राई गर्दै १० अंक जोडेकी हुन् । तर, सलेशले दुवैपल्ट कन्भर्जन किकबाट अंक जोड्न सकेन ।

कर्णालीले पहिलो सेमिफाइनलमा नेपाल महिला रग्बी संघलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । उक्त खेलको विजेताको टुंगो कन्भर्जन किकबाट गरिएको थियो ।

अर्को सेमिफाइनलमा सलेशले बागमतीलाई १०–५ ले पराजित गरेर फाइनल पुगेको थियो । पहिलो हाफमा दुवै टोलीले एक-एक ट्राई गरेका थिए ।



Enter Kantipur TV HD
Advertisement