एथलेटिक्स टोली पाकिस्तान जाँदै

फाल्गुन ७, २०८१ |खेल ब्युरो
एथलेटिक्स टोली पाकिस्तान जाँदै

काठमाडौं । दक्षिण एसियाली एथलेटिक्स क्रस कन्ट्री च्याम्पियनसिपमा सहभागी हुन ५ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली बिहीबार पाकिस्तानको इस्लामावाद प्रस्थान गर्ने भएको छ । 

फागुन ११ गते हुने प्रतियोगिताको सिनियरमा २ र जुनियरमा ३ गरी ५ पुरुष खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । सिनियरमा सुशिलकुमार शाही र सञ्जय श्रेष्ठ सहभागी हुनेछन् । 

जुनियरमा वादल कार्की, अजय विक र कृष्णबहादुर परियारले भाग लिनेछन् । सिनियरमा १० किलोमिटर तथा जुनियरमा ८ किलोमिटर दूरीमा प्रतिस्पर्धा हुनेछ । 

नेपालले सिनियरमा व्यक्तिगत तथा जुनियरमा व्यक्तिगत र टिम इभेन्टमा सहभागिता जनाउनेछ । प्रशिक्षकमा विमला राना मगर तथा व्यवस्थापकमा भीमकुमारी भुसाल रहेका छन् । 

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले बुधबार एक कार्यक्रमबीच बिदाइ गर्नुभयो । सो अवसरमा सदस्य–सचिव घिसिङले प्रतियोगिता भनेको खेलाडीले प्रशिक्षणमा गरेको तयारीलाई प्रमाणित गर्ने अवसर भएको बताउनुभयो ।



Enter Kantipur TV HD
Advertisement