एटालान्टालाई पराजित गर्दै ब्रुग च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश

फाल्गुन ७, २०८१ |खेल ब्युरो
एटालान्टालाई पराजित गर्दै ब्रुग च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश

काठमाडौं । क्लब ब्रुग , सिरी आ क्लब एटालान्टालाई पराजित गर्दै च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । ब्रुगले प्ले अफ दोस्रो लेगमा एटालान्टालाई ३-१ गोलले पराजित गरेको हो ।

बेल्जियन क्लबले इटालियन साइड एटालान्टा माथि समग्रमा ५-२ गोलको जित हात पारेको हो । पाहुना टिमले तीन गोलनै पहिलो हाफमा गरेको हो । तेस्रो मिनेटमानै चेम्सडिन टाल्बीले गोल गर्दै क्लब ब्रुगलाई अग्रता दिलाएका थिए ।

च्याम्पियन्स लिगमा क्लब ब्रुगले गरेको यो सबैभन्दा छिटो गोल हो । २७ औं मिनेटमा टाल्बीलेनै टिमको अग्रता दोब्बर बनाए । १९ वर्ष २ सय ८५ दिनका उनी बेल्जियन क्लबको च्याम्पियन्स लिग इतिहासमा दुई गोल गर्ने सबैभन्दा कान्छा खेलाडी हुन् ।

इन्जुरी समयमा फरान जुट्ग्लाले गोल गरेपछि एटालान्टा पहिलो हाफमानै ३-० ले पछि परेको थियो । दोस्रो हाफमा सब्सिच्युट खेलाडीका रुपमा मैदान प्रवेश गरेको ३४ सेकेन्डमानै आडेमन लुकमनले गोल गर्दै एटालान्टालाई खेलमा फर्काउने प्रयास गरेका थिए ।

एटालान्टाले पेनाल्टिको पनि अवसर पाएको थियो । तर लुकमनको प्रहारलाई गोलकिपरले बचाए । ८७ औं मिनेटमा कप्तान रफायल टोलोइले रातो कार्ड पाएपछि एटालान्टा दश खेलाडीमा समेटिएको थियो । यस्तै बेन्फिकाले मोनाकोलाई चार तीनले पराजित गर्दै नक आउट चरणमा स्थान बनाएको हो ।

प्ले अफको दोस्रो लेग तीन तीन गोलको बराबरीमा सकियो । लिस्बनमा बेन्फिकाले, करिमको गोल मार्फत अग्रता बनाएको थियो । ३२ औं मिनेटमा मोनाकोका टाकुमी मिना मिनोले बराबरी गोल फर्काए । ५१ औं मिनेटमा एलियस बिन जाघिरले गोल गरेपछि मोनाको अघि रहेको थियो । ७६ औं मिनेटमा भानगेइस पब्लिदिसले पेनाल्टिमा गोल गर्दै बेन्फिकालाई पुनरागमन गराए ।

८१ औं मिनेटमा मोनाको फेरी गोल गर्न सफल भयो । यो पटक उसका लागि जर्जले गोल गरेका थिए । तर ८४ औं मिनेटमा ओर्कुन कोक्चुले गोल गर्दै खेल तीन तीनको रोमान्चक मोडमा पुर्याएपछि बेन्फिका प्ले अफमा जीत हात पार्न सफल भएको हो ।

एसि मिलान भने प्रतियोगिता बाट बाहिरियो । फाइनोर्डले मिलानलाई समग्रमा २-१ गोलले हराएको हो । गएराती भएको दोस्रो लेगमा फाइनोर्डले मिलानलाई एक एक गोलको बराबरीमा रोक्यो । च्याम्पियन्स लिग नक आउट चरणको ड्र शुक्रबार सार्वजनिक हुनेछ ।



Enter Kantipur TV HD
Advertisement