नेपाल पुलिस क्लब कीर्तिमानी ११ औं पटक आहा रारा गोल्डकपको फाइनलमा

माघ ३०, २०८१ |खेल ब्युरो
नेपाल पुलिस क्लब कीर्तिमानी ११ औं पटक आहा रारा गोल्डकपको फाइनलमा

काठमाडौं । विभागीय टिम नेपाल पुलिस क्लब, किर्तिमानी ११ औं पटक आहा रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । पुलिसले आज भएको सेमिफाइनलमा ए डिभिजन लिग प्रतिद्वन्द्वी चर्च ब्वाइज युनाइटेडलाई १–० गोलले पराजित गरेको हो ।

पोखरा रंगशालामा खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकियो । दुवै टिमबाट गोलका केही मौका सिर्जना भए पनि सदुपयोग हुन सकेन । तर ब्रेकपछि पुलिसले डेडलक तोड्यो । ५८ औं मिनेटमा सञ्जीव लामाले दर्शनीय गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए । 

उनको प्रहारलाई चर्च ब्वाइजका गोलकिपर टिकेन्द्र थापाले पत्तो समेत पाएनन् । ६९ औं मिनेटमा चर्च ब्वाइजले बराबरी गोल गर्ने अवसर पाएको थियो । सर्जी डिकाको प्रहारलाई गोलकिपर शत्रुधन चौधरीले विफल पार्दै पुलिसको खतरा टारे । बाँकी समयमा चर्च ब्वाइजले पुनरागमन गर्न नसक्दा सञ्जीवको गोल पुलिसको जितका लागि निर्णायक बन्यो । 

आहा रारामा पुलिसको यो ५० औं खेल पनि हो । जुन जितका साथ स्मरणीय बन्यो । पुलिस पाँच वर्षपछि उपाध‍ि नजिक पुगेको हो । 

योसँगै आहा रारामा २५० खेल पनि पूरा भएको छ । पुलिसले अब फाइनलमा थ्री स्टार र उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसी बीचका विजेतासँग प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमिफाइनल भोलि हुनेछ ।



Enter Kantipur TV HD
Advertisement