काठमाडौं । ओउसमान डेम्बेलेको दुई गोलको सहयोगमा पीएसजीले ब्रिस्टविरुद्ध तीन-शून्यको जित दर्ता गरेको छ । च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न खेलमा पीएसजीले सहज जित दर्ता गरेको हो ।
खेलको १९औँ मिनेटमा पीएसजीले पेनाल्टी पाएको थियो । डेम्बेलेको प्रहारको क्रममा लिस मेउलोको हातमा बलले लागेपछि रेफ्रीले भीएआर रिभ्यूबाट पेनाल्टी दिएका थिए ।
पेनाल्टीमा भिटिन्हाले गोल गरे । पहिलो हाफको अन्तिम मिनेटमा डेम्बेलेले पीएसजीको अग्रता दोब्बर पारे । उनले असरफ हाकिमीको पासमा गोल गरेका थिए । ५२औँ मिनेटमा पनि पीएसजीका लागि डुरेस डूले गोल गरे पनि रिभ्यूबाट अफसाइड दिइयो । ६६औँ मिनेटमा डेम्बेलेले व्यक्तिगत दोस्रो गोल गरे । बाँकी समयमा गोल हुन सकेन र पीएसजी तीन-शून्य गोलले विजयी भयो ।
गएराति नै भएको अर्को खेलमा बोरुसिया डर्टमन्डले स्पोर्टिङलाई तीन-शून्य गोलले हराएको छ । स्पोर्टिङको घरेलु रंगशालामा भएको खेलमा डर्टमन्डले दोस्रो हाफमा गोल गरेर जित निकालेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, ६०औँ मिनेटमा सोरहू गुइरासीले गोल गरे । पास्कल ग्रुबले ६८औँ मिनेटमा अग्रता दोब्बर बनाए । करिम अडेयानीले ८२औँ मिनेटमा जर्मन टोलीको लागि तेस्रो गोल थपे । यससँगै पहिलो लेगमा डर्टमन्ड विजयी भएको हो ।
च्याम्पियनस लिगको अन्तिम १६ मा पुग्ने टिमको टुंगो अर्को हप्ता हुने दोस्रो खेलपछि मात्रै लाग्नेछ । च्याम्पियन्स लिगमा आज राति बायर्न म्युनिखले सेल्टिकसँग खेल्नेछ । इटालीको मिलानले फियोनर्डको सामना गर्नेछ ।