काठमाडौं । आहा रारा पोखरा गोल्डकपको सेमिफाइनल समीकरण पूरा भएको छ । आज सम्पन्न चौथो क्वार्टरफाइनल खेलमा सिक्किमको क्लब थन्डरबोल्ट नर्थ युनाइटेडलाई ३-० ले हराएर उज्ज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी अन्तिम चारमा पुगेसँगै सेमिफाइनल समीकरण पूरा भएको हो ।
पोखरा रंगशालामा खेलको ३८ औं मिनेटमै स्लो-मजोन अब्दुको-दिरोभले गोल गर्दै ब्ल्याक बुल्सलाई सुरूआती अग्रता दिलाएका थिए । पोस्टको नजिकै बाट स्लोम-जोनले सेकेन्डबार तर्फ गोल गरे । उनलाई सिक्स यार्ड बक्सभित्रका सब्का-त्जोन सातरोभले पास मिलाइदिएका थिए । पहिलो हाफमै अग्रता लिएको उज्ज्वेकिस्तानी टोलीले दोस्रो हाफमा अझै सुधारिएको प्रदर्शन देखायो ।
खेलको ७३ औं मिनेटमा सब्स्टिच्युट खेलाडी साईज-मोल दभ्ला-तजोनोभले गोल गर्दै अग्रतालाई दोब्बर बनाए । उनको लामो प्रहार गोलकिपर लाक्पा भुटियाले जज् समेत गर्न सकेनन् । सब्कात्जोन साटरोभले बुल्सका लागि ७५ औं मिनेटमा तेस्रो गोल गरे । उनको गोल टोलीको लागि अन्तिम बन्यो ।
खेलमा बुल्सका एलिजोन एलिजो-नोभ प्लयेर अफ दि म्याच घोषित भए । पोखरामा गोल्डकप खेल्न आईपुगेका टोलीहरूमध्ये बलियो देखिएको उज्वेकिस्तानको टोली ब्ल्याक बुल्सले अन्तिम चारमा थ्रीस्टारसँग खेल्ने छ । भोलि हुने पहिलो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबले अपी पावर चर्च ब्वाईजसँग प्रतिस्पर्धा गर्नेछ ।