काठमाडौं । एफए कपअन्तर्गत गएराति नै भएको अर्को खेलमा भने एस्टन भिल्लाले टोटेनहमलाई पराजित गरेको छ । घरेलु रंगशाला भिल्ला पार्कमा भएको खेलमा एस्टन भिल्लाले दुई-एक गोलको जित हात पारेको हो ।
घरेलु टोलीका लागि ज्याकोब रामसीले पहिलो मिनेटमा नै गोल गरे । उनको शक्तिशाली प्रहार गोलकिपरले बचाउने प्रयास गरे पनि सफल भएनन् । पहिलो हाफमा नै सन ह्युङ मिनले कटब्याकमा गोलको प्रयास गरे पनि गोलकिपर इमिलियानो मार्टिनेजले राम्रो बचाउ गरे । १८औँ मिनेटमा टेलेमन्सको प्रहार बाहिरिएको थियो ।
यससँगै खेलको पहिलो हाफमा भिल्लाले एक गोलको अग्रता बनायो । दोस्रो हाफमा पनि टोटेनहमले गोलका सुन्दर मौका खेर फाल्यो । ६४औँ मिनेटमा टोटेनहमका पोरो र केभिन डान्सोले क्लियर गर्न नसकेको बलमा मोर्गन रोजर्सले चलाखीपूर्ण तरिकाले गोल गरे । यससँगै खेलमा घरेलु टोलीले दुई-शून्यको अग्रता बनायो । खेलको स्टपेज सयममा लामो क्रसमा आएको बललाई माथिज टेलले पोस्टको दिशा दिए ।
उनले विपक्षी टोलीका दुई डिफेन्डरलाई झुक्याएर गोल गरेका हुन् । यता, टोटेनहम भने लगातार दोस्रो पटक पनि चौथो चरणबाट बाहिरिएको छ । भिल्लाले एफए कपको पछिल्लो नौ संस्करणमा यो सिजन सबैभन्दा उत्कृष्ट नतिजा निकालेको छ। उसले यो वर्ष दुई प्रिमियर लिग क्लबलाई हराएको छ। यसअघि उसले वेस्ट ह्यामलाई पनि हराएको थियो ।