अर्जुन ट्रफी च्याम्पियन बन्यो सीवाईसी अत्तरिया, विवेक बने ‘प्लेयर अफ द सिरिज’

माघ २८, २०८१ |खेल ब्युरो
अर्जुन ट्रफी च्याम्पियन बन्यो सीवाईसी अत्तरिया, विवेक बने ‘प्लेयर अफ द सिरिज’

काठमाडौं । अर्जुन ट्रफी राष्ट्रिय टी ट्वेन्टी च्याम्पियनसिपको उपाधि सीवाईसी अत्तरियाले जितेको छ । आज भएको फाइनलमा अत्तरियाले फ्रेन्ड्स युथ क्लब डडेलधुरालाई ३४ रनले पराजित गरेको हो । अत्तरिया अपराजित रहँदै च्याम्पियन बन्यो ।

धनगढीस्थित फाप्ला इन्टरनेशनल क्रिकेट ग्राउन्डमा टस जितेर ब्याटिङ गरेको अत्तरियाले २० ओभरमा ९ विकेट गुमाएर ११८ रनको सामान्य योगफल बनाएको थियो । ओपनर त्रितराज दासले खाता खोल्न सकेनन् । शंकर राना २०, कप्तान सन्तोष कार्की २० र भीम सार्की १० रनमा आउट भए । 

दीपेश कँडेल ७ रनमा रनआउट हुँदा विवेक यादवले ११ रन जोडेका थिए । राशीद खानले ३१ र सन्दीप जोराले १३ रन बनाएपछि अत्तरियाले एक सयको आँकडा पार गरेको थियो । 

अभिषेक गौतमले चार विकेट लिए । स्कोर बोर्डमा रन कम बनाए पनि अत्तरियाका बलरले उत्कृष्ट प्रदर्शन गरे । डडेलधुरा १८ ओभरमा ८४ रनमा अल आउट भयो । टिमको स्कोर ५ रन हुँदा दुई खेलाडी पभेलियन फर्किए । आयुष्मान् बम शून्यमा र विनोद भण्डारी ५ रनमा आउट भए । गजेन्द्र बोहराले २४ र कुशल भुर्तेलले २० रन बनाउनु बाहेक अन्यको प्रदर्शन फितलो रह्यो । अशोक धामीको ११ रन बनाए पनि जितका लागि पर्याप्त भएन । 

दीपेश कँडेल र साहव आलमले तीन-तीन विकेट लिएपछि डडेलधुराको ब्याटिङ चल्न सकेन । कमल गुप्ता र विवेकको नाममा दुई-दुई विकेट रह्यो । विवेक ‘प्लेयर अफ द सिरिज’ पनि बने । कुशल भुर्तेल उत्कृष्ट ब्याटर र बलर घोषित भए । उनले पाँच खेलमा १६८ रन र १३ विकेट लिएका थिए । उपाधि जितेको अत्तरियाले १० लाख र उपविजेता डडेलधुराले पाँच लाख पुरस्कार प्राप्त गरे ।



Enter Kantipur TV HD
Advertisement