इमेज सहकारीका पीडितले फिर्ता पाउन थाले बचत

माघ २९, २०८१ |प्रदीप पन्त
इमेज सहकारीका पीडितले फिर्ता पाउन थाले बचत

बागलुङ । बागलुङको इमेज बचत तथा ऋण सहकारी संस्थाबाट पीडितले बचत रकम फिर्ता पाउन थालेका छन् । बागलुङ र पोखराका सहकारी बचतकर्ताको अर्बौं रकम अपचलन गरी कारोबार बन्द भएको २० महिनापछि इमेज बचत तथा ऋण सहकारी संस्थाले पीडितले बचत रकम फिर्ता दिन थालेको हो ।

एक लाखसम्म पहिलो चरणमा बचत फिर्ता गरेपछि दोस्रो चरणमा ५ लाख रुपैयाँसम्मको फिर्ता गर्ने योजना राखिएको छ ।

सहकारी ठगी मुद्दामा संस्थाका संस्थापक अध्यक्ष तथा ढोरपाटन नगरपालिका प्रमुख देवकुमार नेपालीलाई विपक्षी बनाएका जाहेरवालामध्ये ५४७ जना बचतकर्ताले मेलमिलाप गरेपछि रकम फिर्ताको काम सुरू भएको छ ।

मुद्दाको समय लम्बिने र मजदूरी गरेर कमाएको रकम राखेकाहरू बचत फिर्ता नपाएर हैरान थिए । सहकारी सञ्चालक र सहकारी पीडित संघर्ष समितिको अगुवाइ र सरकारी वकिलको रोहवरमा पहिलो चरणमा बुर्तिवाङ, गल्कोट र बागलुङका अहिलेसम्म २९० जना बचतकर्ताको १ लाख रुपैयाँसम्मका बचतकर्ताको १ करोड ३२ लाखभन्दा बढी फिर्ता गरिसकिएको छ ।

पहिलो चरणमा उनीहरूको ठगिएको रकम २३ करोड ७५ लाख ४२ हजार ३४० रुपैयाँ बराबरको रकम घरसारमा मिलेर पाएको भन्दै मेलमिलाप गरिसकेका छन् । अहिले ‘मिना ग्रुप कम्पनी प्रालि' ले ऋणस्वरूप रकम उपलब्ध गराएको छ । संस्थाको अचल सम्पत्ति रहेको हुँदा तत्कालका लागि नगद वितरण गरेपछि कानुनी प्रक्रिया अनुसार लिने भएको छ ।

साना बचतकर्तालाई पहिलो चरणमा बचत फिर्ता गरेपछि दोस्रो चरणमा ५ लाख रुपैयाँसम्मको फिर्ता गर्ने योजना राखिएको छ । सहकारीमा खाता खोली बचतमा राखेको रकम फिर्ता लिन नपाई पीडित भएका बचतकर्ता अहिले भने खुशी भएका छन् ।

पीडित भएका १ हजार ५७३ जना सर्वसाधारणले प्रहरीमा जाहेरी दिएका थिए । पीडितहरूको जाहेरी संकलन गरी जिल्ला प्रहरीले अनुसन्धान गरेपछि सरकारी वकिलको कार्यालयले नेपाली सहित १० जना विरुद्ध सहकारी ठगी मुद्दा दायर गरेको थियो । सहकारीका बचतकर्ताको १ अर्ब ३८ करोड ६३ लाख १३ हजार ५२५ रुपैयाँ हिनामिना गरेको आरोपमा मुद्दा दायर भएको थियो । बागलुङ जिल्लाले गत पुस १९ गते आंशिक मेलमिलापको आदेश दिएको थियो । अदालतको मेलमिलापको आदेशपछि पीडित बचतकर्ताले आफनो रकम फिर्तामा सहज बनेको छ ।


Image

प्रदीप पन्त

पन्त कान्तिपुर टेलिभिजनका बागलुङ संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement