कैलाली । सुदूरपश्चिमको क्रिकेट मोहबारे सबै जानकार छन् । फ्रेन्चाइज क्रिकेटको सुरूआत कैलालीको धनगढीबाटै भएको हो । धनगढी प्रिमियर लिगले नेपाली क्रिकेटको विकासमा महत्त्वपूर्ण योगदान पुर्याएको छ ।
हाल महिला तथा पुरुष राष्ट्रिय टिममा पनि सुदूरकै खेलाडीको बाहुल्य छ । अहिले सुदूरमा फेरि क्रिकेट फर्किएको, अर्जुन ट्रफी मार्फत । नेपाल क्रिकेट संघ (क्यान)को वार्षिक क्यालेन्डरमा समावेश यो प्रतियोगिताले पनि समर्थकको बलियो साथ पाएको छ ।
क्रिकेटको शहरको उपमा पाएको सुदूरपश्चिमको धनगढीमा क्रिकेटप्रतिको मोह र समर्थन उच्च छ । एसपीए कप हुँदै डीपीएल आयोजना गरेर अन्तर्राष्ट्रियस्तरमै चर्चा बटुलेको धनगढीमा यस पटक आयोजना गरिएको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिमा पनि दर्शकको उपस्थिति उल्लेख्य छ ।
गो ड्रिमर्सको आयोजनामा भएको अर्जुन ट्रफीका हरेक खेलमा दर्शकले फाप्ला इन्टरनेशनल क्रिकेट ग्राउन्ड भरियो । अस्थायी प्यारापिट भरिएपछि टाढा टाढाबाट टिकट काटेर आएका दर्शक उभिएरै दिनभरि खेल हेर्न बाध्य भए । मैदान भरिएपछि कतिपयले मैदान बाहिरबाटै भए पनि खेल हेरे ।
विभिन्न ८ वटा टिमको सहभागिता रहेको प्रतियोगितामा राष्ट्रिय टिमका खेलाडीको उपस्थितिले दर्शकलाई थप उत्साहित बनायो । टी ट्वेन्टी आई वरीयतामा विश्व नम्बर दुई दीपेन्द्रसिंह ऐरी सेमिफाइनल खेल्न धनगढी पुगे । कुशल भुर्तेल, सन्दीप जोरा, भीम सार्की, विवेक यादव, लोकेश बम, ललित राजवंशी लगायतको खेलाडी मैदान उत्रनुले दर्शक रोमाञ्चित बने ।
एसपीए कप र डीपीएल सफलतापूर्वक सम्पन्न गरेका सुवास शाहीले धनगढीमा क्रिकेट खेलको विकासका लागि महत्त्वपूर्ण योगदान गरेका प्रशिक्षक अर्जुन खड्काको स्मृतिमा यो प्रतियोगिता आयोजना गरेका हुन् । खेल अवधिभरि भएको दर्शकको उत्सजनक सहभागिताले आगामी दिनमा यसलाई अझ भव्य बनाउने उनको योजना छ । यसले फप्लालाई अन्तर्राष्ट्रियस्तरको मैदान बनाउन पनि दबाब दिएको छ ।
क्रिकेटका लागि भौतिक संरचना अभावमा समेत सुदूरपश्चिमले निरन्तर स्तरीय प्रतियोगिता गर्दै आइरहेको छ । अब चाहिँ जति सक्दो छिटो भौतिक संरचना निर्माणका लगि सरकारको पनि ध्यान जान्छ कि ?