काठमाडौं । १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता फेरि तोकिएको समयमा नहुने देखिएको छ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले अर्थ मन्त्रालयले फाइल अड्काएका कारण प्रतियोगिता अन्योलमा परेको उल्लेख गर्नुभयो ।
नेपाल खेलकुद पत्रकार मञ्चले आज ललितपुरमा गरेको सम्मान कार्यक्रममा बोल्दै मन्त्री चौधरीले राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठकले मिति घोषणा गरे पनि कार्यान्वयन हुनेमा आफैं विश्वस्त नरहेको बताउनुभयो । निर्धारित तालिका अनुसार प्रतियोगिता गत मंसीर २ देखि ९ गतेसम्म कर्णली प्रदेशमा हुनुपर्ने थियो । उक्त समयमा हुन नसक्दा आगामी चैत २३ देखि हुने नयाँ मिति घोषणा भएको थियो ।
मन्त्री चौधरीले समस्याका बीच समयमै प्रतियोगिता गर्ने प्रयासमा रहेको बताउनुभयो । गत शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य, तथा सूचना प्रविधि समितिले पनि १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न निर्देशन दिएको थियो । यस्तै मन्त्री चौधरीले नेपाल ओलम्पिक कमिटीको विषयमा आफूहरू कानुन बमोजिम नै अघि बढ्ने प्रस्ट पार्नुभएको छन् । उहाँले ओलम्पिक कमिटीका पदाधिकारीको विदेश भ्रमणमा रोक लगाउने पनि चेतावनी दिनुभयो ।
अदालतको आदेश विपरीत भएको ओलम्पिक कमिटीको निर्वाचनलाई सरकारले मान्यता दिएको छैन । मन्त्री चौधरीले खेलाडी र प्रशिक्षक लगायत खेल गतिविधिमा भने ओलम्पिक विवादको असर पर्न नदिने विश्वास दिलाउनुभयो ।