काठमाडौं । एसियन विन्टर गेम्सको तेस्रो दिन घरेलु टिम चीनले सातमध्ये ६ स्वर्ण पदक जितेको छ ।
स्पिड स्केटिङको पुरुष पाँच सय मिटरमा चीनका गाओ टिंग्युले स्वर्ण पदक प्राप्त गरेका हुन् । उनले टिम स्प्रिन्टमा लियान जेविन र निङ झोङयाङलाई स्वर्ण जिताउन पनि मद्दत गरेका थिए । चीनले महिला तीन हजार मिटरको पदकमा क्लिन स्विप गर्यो । याङ बिन्युले स्वर्ण, हान मेइले रजत र ताइ झेनले कास्य पदक जिते ।
यबुली स्की रिजर्टमा चीनले एअर स्नो बोर्डिङमा दुई स्वर्ण पदक हात पार्यो । चिओङ सिरुइले महिलातर्फको इभेन्टमा स्वर्ण जितेकी हुन् । उनकै टिम मेट झाङ चियानने दोस्रो स्थान प्राप्त गरिन् । पुरुषतर्फ फ्रिस्टाइल स्किइङ मिक्स्ड टिम एरियल्समा चीनले स्वर्ण जित्दा काजख्स्तानले रजत र जापानले कास्य जितेका छन् ।
तेस्रो दिन चीनबाहेक स्वर्ण जित्ने एक मात्र देश जापान रह्यो । हारुकी यामासिताले पुरुषतर्फ क्रस कन्ट्री स्किइङ दश किलोमिटर फ्रि स्टाइलको स्वर्ण हात पारे । जापानकै यडाले रजत र काजख्स्तानका ओल्हासले कास्य पाए ।