हमासले शनिबारसम्म सबैलाई नछाडे इजरायलले युद्धविराम भंग गर्नुपर्ने ट्रम्पको टिप्पणी

माघ २९, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
हमासले शनिबारसम्म सबैलाई नछाडे इजरायलले युद्धविराम भंग गर्नुपर्ने ट्रम्पको टिप्पणी

काठमाडौं । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले प्यालेस्टिनी लडाकु समूह हमासले शनिबारसम्म सबै बन्धक रिहा नगरे इजरायलले युद्धविराम सम्झौता भंग गर्नुपर्ने बताउनुभएको छ । हमासले इजरायली बन्धकको रिहाइ रोक्ने घोषणा गरेपछि ट्रम्पको यस्तो भनाइ सार्वजनिक भएको हो ।

ट्रम्पले हमासले शनिबार दिउँसो १२ बजेसम्ममा सबै बन्धक रिहा गर्नुपर्ने, नभए हमासको सबै बाटो बन्द गरेर विनाश सिर्जना गर्ने खुला रूपमै चेतावनी दिनुभएको हो । यस्तै ट्रम्पले जोर्डन र इजिप्टले गाजाबाट स्थानान्तरण गरिने प्यालेस्टिनी शरणार्थीलाई लिन अस्वीकार गरे उनीहरूलाई अमेरिकाले दिँदै आएको सहायता रोक्ने चेतावनी समेत दिनुभएको छ । ट्रम्पको चेतावनीलाई अस्वीकार गर्दै हमासले धम्कीपूर्व भाषाको कुनै मूल्य नरहेको प्रतिक्रिया दिएको छ ।

इजरायली जेलमा रहेका प्यालेस्टिनी बन्दी रिहाइको बदलामा हमासले शनिबार थप तीन जना बन्धक मुक्त गर्ने पूर्वयोजना थियो । तर, इजरायलमाथि युद्धविराम सम्झौता उल्लङ्घन र शर्तहरू पालना नगरेको आरोप लगाउँदै हमासले इजरायली बन्धकको रिहाइ रोक्ने घोषणा गरेको थियो । यस विषयमा इजरायली रक्षामन्त्री इजरायल काट्जले हमासको घोषणा युद्धविराम सम्झौताको पूर्ण उल्लंघन भएको भन्दै कडा आपत्ति जनाउनुभएको छ । उहाँले गाजामा सम्भावित कुनै पनि परिदृश्यका लागि उच्च सतर्कतामा रहन समेत सेनालाई आदेश दिनुभएको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले हमासलाई बन्धक रिहाइको कार्यलाई निरन्तरता दिन अपिल गर्नुभएको छ भने इजिप्टका राष्ट्रपति अब्देल फताह अल सीसीले गाजावासीलाई गाजामै राखेर पुनःनिर्माण गरिनुपर्नेमा जोड दिनुभएको छ । यस्तै सिरियाका राष्ट्रपति अहमद अल शाराले गाजावासीलाई आफ्नो मातृभूमिबाट जबर्जस्ती विस्थापित गर्नु गम्भीर प्रकारको अपराध हुने बताउनुभएको छ ।

जनवरी १९ देखि गाजा युद्धविराम सुरू भएयता हमासले १६ इजरायली र ५ थाई गरी २१ बन्धकलाई रिहा गरिसकेको छ भने इजरायलले पनि ५६६ जना प्यालेस्टिनी बन्दीलाई रिहा गरेको छ । पहिलो चरण अन्तर्गत रिहा हुने भनिएकामध्ये १७ कैदी अझै पनि हमासको नियन्त्रणमा रहेका छन् ।

यसैबीच इजरायली सेनाले हमासको नियन्त्रणमा रहेका ८६ वर्षीय श्लोमो मन्सुरको मृत्यु भएको दाबी गरेको छ । यसैबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजामा रहेका बन्धकलाई फिर्ता गर्न ‘दृढ र अथक कारबाही’ गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।



Enter Kantipur TV HD
Advertisement