काठमाडौं । इन्टर मिलानले इटालियन सिरीआ मा फियोरेन्टिनालाई २-१ गोलले पराजित गरेको छ । योसँगै इन्टरले तालिकाको शीर्ष स्थानमा रहेको नापोलीसँगको दूरी एक अंकमा झारेको छ ।
इन्टरले चार दिनको अन्तरमा नै फियारेन्टिनालाई आफ्नो मैदानमा स्वागत गरेको हो । लिगको इतिहासमा यो दोस्रो सबैभन्दा कम समयको अन्तर हो । गत बिहीबार राति भएको लिगको खेलमा फियारेन्टिनाले इन्टरमाथि ३-० को जित हात पारेको थियो । डिसेम्बर एकमा खेलाइएको यो खेल फियारेन्टिनाका मिडफिल्डर इडोआर्डो बोभलाई पिचमा कार्डियाक अरेस्ट आएपछि १७ मिनेटमा स्थगित गरिएको थियो ।
गएरातिको खेलमा इन्टर सुरुबाटै आक्रामक रुपमा प्रस्तुत भएको थियो । इन्टरले अग्रता भने आत्मघाती गोलमार्फत् लियो । २८औँ मिनेटमा फिरोयन्टिनाका मरिन पोङराचिचले आफ्नै पोस्टमा गोल गरे । ४४औँ मिनेटमा फियोरेन्टिनाले पेनाल्टी गोलमार्फत् खेल बराबरी गर्यो ।
इन्टरका माटेयो डार्मियानबाट ह्यान्डबल भएपछि पेनाल्टी दिइएको थियो । रोनाल्डो मानड्रागोराले गोल गरेपछि पहिलो हाफ एक-एकको बराबरीमा सकियो । तर ५२औँ मिनेटमा मार्को अर्नाउटोभिचले गोल गरे र इन्टरले फियोरेन्टिनासँग यसअघि बहोरेको हारको बदला लिँदै महत्वपूर्ण तीन अंक जोड्यो ।
तालिकाको दोस्रो स्थानमा रहेको इन्टरको २४ खेलबाट ५४ अंक छ । शीर्ष स्थानको नापोलीको ५५ अंक छ ।