भ्रष्टाचार अवधारणा सूचकाङ्कमा नेपालले पायो ३४ अंक

माघ २९, २०८१ |कान्तिपुर टीभी संवाददाता
भ्रष्टाचार अवधारणा सूचकाङ्कमा नेपालले पायो ३४ अंक

काठमाडौं । भ्रष्टाचार अवधारणा सूचकाङ्क २०२४ मा नेपालले सयमा ३४ अंक प्राप्त गरेको छ ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले यस्तो तथ्यांक सार्वजनिक गरेको हो । सार्वजनिक तथ्यांककाअनुसार गत वर्ष नेपालको अंक ३५ रहेको थियो ।

नतिजाअनुसार भ्रष्टाचारबिरुद्ध प्रभावकारी रुपले काम कारबाही अगाडि बढाउन जरुरी भएको औंल्याइएको छ । दक्षिण एशियाली राष्ट्रहरुमध्ये भूटान ७२, भारत ३८, माल्दिभ्स ३८, श्रीलंका ३२, पाकिस्तान २७, बंगलादेश २३, अफगानिस्तानको १७ अंक रहेको छ ।

चीनले ४३ अंक प्राप्त गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले गरेको करप्शन पर्सेप्शन इण्डेक्स (सिपिआई) २०२४ (भ्रष्टाचार अवधारणा सूचकाङ्क-२०२४) मा १८० देशहरु सम्मिलित छन् । यस सूचकाङ्कमा डेनमार्क विगत ७ वर्षदेखि लगातार ९० अंक प्राप्त गरी विश्वको सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा रहेको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष मदनकृष्ण शर्माले बताउनु भयो ।

उहाँकाअनुसार यस वर्ष विश्व बैंकको सर्वेक्षणमा केही सुधार देखिए पनि वल्र्ड इकोनोमी फोरम र ग्लोवल इनसाइटको सर्वेक्षणका तथ्यांकले निर्यात, कर, ठेक्का व्यवसाय, आयात जस्ता सरकार र व्यवसायिक क्षेत्र सम्बन्धित कार्यका साथै न्यायिक निर्णयमा भ्रष्टाचार बढेको देखाएको बताउनु भयो ।

नेपालले २०१५ देखि २०२४ सम्मका १० वर्षमा क्रमशः २७, २९, ३१, ३१, ३४, ३३,३३, ३४, ३५, ३४ अंक प्राप्त गरेको छ । भ्रष्टाचार नियन्त्रणका लागि नेपालले राजनीतिक क्षेत्रको सदाचार प्रतिको प्रतिवद्धतामा अभिवृद्धि, सरकारी क्षेत्रमा हुने घुसखोरी र भ्रष्टाचारमाथि निष्पक्ष कारबाही, स्वच्छ न्यायिक प्रक्रियाको सुनिश्चितता र व्यवसायिक क्षेत्रसँग सम्बन्धित भ्रष्टाचार नियन्त्रणमा प्रभाकारी कदम चाल्न सुझाव दिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement