काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान-नास्टमा १२ वर्षदेखि कार्यरत रोसा रन्जितले नेचुरल प्रोडक्ट केमेस्ट्रीमा पीएचडी गर्नुभएको छ । हाल उहाँ परम्परागत रुपमा प्रयोग हुने औषधिजन्य वनस्पतिका रसायनबाट कस्तो औषधि बनाउन सकिन्छ भन्ने विषयको अनुसन्धानमा संलग्न हुनुहुन्छ ।
‘जुन गाउँघरहरुमा वैद्यहरुले ट्रेडिशनली युज हुने मेडिसनल प्लान्टहरू हुन्छ, त्यो चै रोगको ट्रिटमेन्टका लागि युज हुन्छ त्यसमा चाहिँ कुन चाहिँ केमिकलहरू एक्टिभ कम्पोनेन्टहरू छ, त्यो चाहिँ हामी यहाँ फाइन्ड आउट गर्नका लागि त्यो प्लान्टहरू यहाँ ल्याबमा ल्याएर त्यस्को प्रोसेसिङ गरेर त्यसमा भएको केमिकल निकाल्छौं र त्यो केमिकलहरूको हामी बायोलोजिकल एक्टिभिटी गरेर हेर्छौं,’ नास्टका वैज्ञानिक, रोसा रञ्जितले भन्नुभयो ।
बालकुमारी ओलिया हाल कृषि मन्त्रालयअन्तर्गतको बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्रमा जैविक प्रविधि विज्ञ हुनुहुन्छ । ७ वर्षअघि दक्षिण कोरियाबाट जैविक प्रविधिमा पीएचडी सकेर नेपाल फर्कनुभएकी उहाँले जडिबुटी तथा कृषिजन्य बालीमा जैविक प्रविधिको प्रयोग गरेर गुणस्तरीय उत्पादन कसरी गर्न सकिन्छ भन्ने विषयमा काम गरिरहनुभएको छ । उहाँ भन्नुहुन्छ-विज्ञान प्रविधि क्षेत्रको काम चुनौतीपूर्ण रहे पनि आत्मसन्तोष छ ।
‘च्यालेन्जिङ भइसके पनि तर त्यस्मा एक किसिमको रमाइलो चाहिँ हुँदोरहेछ । काम गरिसके पनि त्यसमा आफूले गरे अनुसारको आउटपुट आउँदा खेरी चाहिँ भोलि हाम्रा बच्चाहरूले पनि हाम्रो आमाले यसरी गर्या छ भनेर प्राउड फिल गर्ने अवसर चाहिँ हुँदोरहेछ,’ उहाँले भन्नुभयो ।
हुन त विश्वभर नै महिला वैज्ञानिकको संख्या न्यून अर्थात् १३ प्रतिशत मात्र छ । विज्ञान क्षेत्र राज्यको कम प्राथमिकतामा पर्ने गरेको नेपालमा पनि महिला वैज्ञानिक निकै कम छन् । स्टिम अर्थात् विज्ञान, प्रविधि, इन्जिनियरिङ तथा गणित क्षेत्रमा करिब ७.८ प्रतिशत महिलाहरू रहेको युनेस्कोको तथ्यांक छ । त्यसैगरी नास्टका अनुसार नेपालमा यस क्षेत्रमा पीएचडी गरेका ८७३ जनामध्ये १४३ जना महिला छन्, यो संख्या करिब १६ प्रतिशत हो । तर, नेपालमा विज्ञानको क्षेत्रमा कति महिला छन्, अझै यकिन तथ्यांक छैन ।
‘हाम्रो महिलाहरुको संख्या कति छ भन्ने एकज्याक्ट डेटा, एकज्याक्ट फिगरहरू त हामीसँग छैन । वुमन इन स्टिम भन्छौ, वुमन इन साइन्स, टेक्नोलोजी, इन्जिनियरिङ र म्याथको यूनेस्कोको आकडा अनुसार चाहिँ लेस देन ७.८ प्रतिशत महिला वैज्ञानिकहरू हुनुहुन्छ भन्ने छ । तर यसमा हुइ निड मोर रिसर्च क्या । हामीलाई नै त्यो धेरै रिसर्च गर्नुपर्ने छ कि कहाँ-कहाँ कुन कुन फिल्डमा महिला वैज्ञानिकहरू आबद्ध हुनुहुन्छ भन्ने कुरा हो,’ नेपालमा महिला वैज्ञानिकहरूको संगठनका अध्यक्ष टिस्टा प्रसाईं जोशीले भन्नुभयो ।
तर, नेपालमा महिला वैज्ञानिकलाई प्रोत्साहनका लागि राज्यको ठूलो भूमिका रहेको नास्टका अधिकारीहरुको भनाइ छ । उनीहरूलाई स्वदेशमै काम गर्ने तथा विदेश पलायन भएकाहरूलाई फर्काउनका लागि नीतिगतदेखि प्रोत्साहनसम्मका कार्यक्रम अघि सार्नुपर्ने नास्टको भनाइ छ ।
‘राज्यको ठूलो दाइत्व हुन्छ, त्यस्ले प्रमोसन गर्ने दुई वटा पाटो हामीले गर्नुपर्छ । एउटा आउनका लागि प्रोत्साहन दिने अर्को बाहिर जानबाट रोक्नका लागि, यही रिटेन्सनका लागि केही पोलिसीहरू बनाउनुपर्ने आवश्यक छ । जस्तो एउटा भनेको महिलाहरूको प्रजनन् स्वास्थ्यदेखि लिएर महिलाहरूलाई यहाँ बस्नका लागि, अनुसन्धान गर्नका लागी हामीले ग्रान्ट दिन्छौं, अवार्ड दिन्छौं भन्ने व्यवस्था गर्नुपर्ने आवश्यक्ता देखिन्छ । अर्को पाटो भनेको उहाँहरू यहीं राख्नका लागि केही मोटिभेसनका कुराहरू हुन्छन, पुरस्कार, ग्रान्ट हुन सक्छ र त्यसपछि केही सुविधाहरू जस्तो बिदाका सुविधादेखि लिएर महिलाको विशेष खाले आवश्यकताहरू हुन्छन् । त्यो आवश्यकताहरूलाई अड्रेस गर्ने गरी त्यो एउटा माहोल गर्दिनुपर्यो,’ नेपाल एकेडमी अफ साइन्स एन्ड टेक्नोलोजीका सचिव रवीन्द्र ढकालले भन्नुभयो ।
महिला वैज्ञानिक जति छन्, राम्रो काम गरिरहेका छन् । तर, प्रोत्साहनभन्दा निरुत्साहन बढी हुने गरेको उनीहरूको गुनासो छ । राज्यले यसका लागि आवश्यक कार्यक्रम अघि नसार्दा यस्ता जनशक्ति निरन्तर पलायन भइरहेका छन्, जसप्रति राज्य गम्भीर भएकै छैन ।