स्पेनिस ला लिगा : सेभियामाथि बार्सिलोनाको जित

माघ २८, २०८१ |खेल ब्युरो
स्पेनिस ला लिगा : सेभियामाथि बार्सिलोनाको जित

काठमाडौं । स्पेनिस लिग ला लिगामा बार्सिलोनाले सेभियालाई पराजित गरेको छ । सेभियाको रामोन सान्चेज पार्कमा भएको खेलमा बार्सिलोना चार-एक गोलले विजयी भएको हो । 

बार्सिलोनाको लागि फर्मिन लोपेज, रोबर्ट लेवान्डोस्की, राफिन्हा र इरिक गार्सियाले गोल गरे । लोपेजले ६२औँ मिनेटमा रातो कार्ड बेहोरेपछि भने बाँकी समय बार्सिलोना १० खेलाडीमा सीमित भएको थियो ।

यद्यपि, उसले बल पोसेसनमा अग्रता राख्दै जित दर्ता गर्‍यो । खेलको सुरुवात नै रोमाञ्चक बन्यो । सातौँ मिनेटमा इन्गो मार्टिनेजको पासमा लेवान्डोस्कीले बार्सालाई अग्रता दिलाए । त्यसको अर्को मिनेटमै घरेलु टोलीका लागि रुविन बर्गसले गोल गर्दै खेललाई एक-एकको बराबरीमा ल्याए । बराबरी गोल फर्काएपछि घरेलु समर्थक निकै उत्साहित बनेका थिए ।

पहिलो हाफमा एक-एक गोलको बराबरीमा सकिए पनि दोस्रो हाफमा बार्साले दबाब बढायो । ४६औँ मिनेटमा लोपेजले गोल गरे । उनलाई पेड्रीले पास उपलब्ध गराएका थिए । यस्तै कसर्बासीको पासमा राफिन्हाले ५५औँ मिनेटमा गोल गरेपछि भने खेलमा बार्सिलोना तीन-एक गोलले अघि रह्यो । त्यसपछि घरेलु समर्थक स्तब्ध बने । एरिक गार्सियाले ८९औँ मिनेटमा गोल गरे । राफिन्हाले ३५ यार्डबाट फ्रि-किकमा इनस्विङ क्रस गरेपछि बाउन्स हुँदै बल गार्सियासामु पुगेको थियो । दोस्रो बारनजिकै रहेका गार्सियाले गोल गर्दै बार्सिलोनाका लागि सानदार फिनिस गरे ।

जितसँगै बार्सिलोनाले २३ खेलमा ४८ अंक बनाएको छ । ऊ शीर्षस्थानको रियल मड्रिडभन्दा दुई अंकले मात्र पछि छ । रियलले २३ खेलबाट ५० अंक बनाएको छ । पराजित सेभिया २८ अंकका साथ १३औँ स्थानमा छ । गएराति नै भएको अर्को खेलमा रियल सोसिडाडले एस्पानोयललाई दुई-एक गोलले हराएको छ ।



Enter Kantipur TV HD
Advertisement