फागुन ३ गते नेपाल र चीनका युवा टोलीबीच मैत्रीपूर्ण फुटबल हुने

माघ २७, २०८१ |खेल ब्युरो
फागुन ३ गते नेपाल र चीनका युवा टोलीबीच मैत्रीपूर्ण फुटबल हुने

काठमाडौं । आगामी फागुन ३ गते दशरथ रंगशालामा नेपाली युवा टिम र चीन युनान युवा टोलीबीच मैत्रीपूर्ण फुटबल खेल हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फा र नेपालस्थित चिनियाँ दूतावासले संयुक्त रूपमा आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै खेलबारे जानकारी दिएका हुन् । 

चीनको नयाँ वर्षको अवसरमा दुई देश बीच खेल हुन लागेको हो । प्रतियोगिताका लागि चिनियाँ युनान प्रान्तको ३७ सदस्यीय टोली माघ ३० गते नेपाल आइपुग्ने छ । नेपालले मुख्य प्रशिक्षक राजेश शाहीको नेतृत्वमा ४५ खेलाडीलाई बन्द प्रशिक्षणमा राखेको छ । यस मैत्रीपूर्ण खेलका लागी ३९ लाख रुपैयाँ लाग्ने अनुमान छ ।

मैत्रीपूर्ण खेलले युवा फुटबलको विकास र फुटबलको माध्यमबाट दुई देशबीचको सम्बन्ध विस्तार गर्ने अपेक्षा गरेको एन्फाका प्रवक्ता सुरेश शाहले बताए । नेपालस्थित चिनियाँ दूतावासका डेपुटी चिफ अफ मिसन वाङ सीले चाइनिज नयाँ वर्ष ग्लोबल सेलेब्रेसन भएको बताए । चीनले जनवरी २९ देखि फेब्रुअरी १२ सम्म नयाँ वर्षको खुशियाली मनाउने गरेको छ । उनले नेपालको पर्यटन विकासमा पनि यस्तो प्रतियोगिताले सहयोग गर्ने बताएका छन् । यसले नेपालमा चिनियाँ पर्यटकको संख्या बढ्ने वाङले उल्लेख गरे । 

यस खेलको प्रविधिक पक्षको सबै जिम्मेवारी एन्फाको रहने छ भने खेल सम्बन्धी अन्य जिम्मेवारी नेपालस्थित चिनियाँ दूतावासको रहने एन्फासँगको सम्झौतामा उल्लेख गरिएको छ । प्रतियोगितामा सहभागी बन्न चीनले एन्फालाई यो वर्ष २३ लाख सहयोग गरेको छ । गत वर्ष चिनियाँ दूतावासले एन्फालाई ११ लाख दिएको थियो ।

नेपालमा यो प्रतियोगिता दोस्रो पटक आयोजना हुन लागेको हो । अघिल्लो वर्षको चीनको प्रान्तीय टोली छिङ हाई युसु नेपाल आएको थियो । सो टोलीमाथि नेपालले ५-१ को जित हासिल गरेको थियो । गत साल सन् १९९५ पछि चिनियाँ फुटबल टोली पहिलो पटक नेपाल आएर खेलेको थियो । गत वर्ष चिनियाँ टोलीले लज्जास्पद हार बेहोरेपछि यो वर्ष बलियो टोली लिएर आउने चिनियाँ राजदूतावासले बताएको छ ।



Enter Kantipur TV HD
Advertisement