काठमाडौं । सरकारले राष्ट्रिय गौरवका आयोजनाहरूको निर्माण सक्ने कार्यतालिका हेरफेर गरेको छ । राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगति न्यून भएपछि सरकारले केही आयोजनाको कार्यतालिका हेरफेर गरेको हो ।
नयाँ कार्यतालिका अनुसार कोशी कोरिडरको निर्माण २०८३/८४ मा सक्ने लक्ष्य लिइएको छ । यसअघि यस आयोजनाको समयसीमा २०८५/८६ थियो । त्यस्तै उत्तरदक्षिण कालीगण्डकी कोरिडोर निर्माण आर्थिक वर्ष २०८५/८६ सम्म सक्ने लक्ष्य सरकारको छ । यस आयोजनामा एक वर्ष समय थपिएको हो ।
रानीजमरा कुलरिया सिँचाइ आयोजनाको म्याद एक वर्ष थप गरेर आर्थिक वर्ष २०८२/८३ मा सक्ने लक्ष्य लिइएको छ । योजना आयोगले गौरवका आयोजनाको प्राथमिकीकरण गरिएको जनाएको छ ।
चालु आर्थिक वर्षमा पनि राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगति सुस्त छ । राष्ट्रिय योजना आयोगका अनुसार मध्यपहाडी राजमार्गको प्रगति पछिल्लो ६ महिनामा जम्मा ३० प्रतिशत रहेको छ । त्यस्तै काठमाडौं तराई मधेश द्रुतमार्गको २४ प्रतिशत, सिक्टा सिँचाइको १९ र भेरी-बबईको २६ प्रतिशत प्रगति छ ।
राष्ट्रिय गौरवका १९ आयोजनाका लागि चालु आर्थिक वर्षमा ६३ अर्ब बजेट विनियोजन भएकामा अहिलेसम्म करिब १६ अर्ब मात्र खर्च हुन सकेको छ ।