आहा रारा गोल्डकपमा मछिन्द्रलाई हराउँदै थ्री स्टार सेमिफाइनलमा

माघ २७, २०८१ |खेल ब्युरो
आहा रारा गोल्डकपमा मछिन्द्रलाई हराउँदै थ्री स्टार सेमिफाइनलमा

काठमाडौं । थ्री स्टार क्लब, आहा रारा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । क्वार्टरफाइनलमा थ्री स्टारले ए डिभिजन लिग प्रतिद्वन्द्वी मच्छिन्द्र फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गरेको हो ।

थ्री स्टारको जीतमा सब्सिच्युट गोलकिपर सरिन जिसी नायक सावित भए । पोखरा रंगशालामा आज भएको खेलको निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएको थियो । १९ औं मिनेटमा दीपेश घलेको प्रहार क्रस बारमा लागेर बाहिरिँदा थ्री स्टार अग्रता लिने मौकाबाट चुकेको थियो । २२ औं मिनेटमा आशिष चापागाईंले प्रयास गरेका थिए, सफल भएनन् ।

मच्छिन्द्रले पनि केही अवसर सिर्जना गरेको थियो । थप गरिएको ३० मिनेटमा पनि दुवै टिमले डेडलक तोड्न नसकेपछि पेनाल्टी सुटआउट भएको हो । थ्री स्टारका गणेश खड्काले थप समयको इन्जुरी समयमा नियमित गोलकिपर अभिषेक बरालको स्थानमा सरिनलाई मैदान प्रवेश गराएका थिए । उनी ‘सुपर सब’ सावित भए । मछिन्द्रका विशाल घलानको पेनाल्टी क्रस बारमा लाग्यो ।

आदित्य शाक्यको प्रहार सरिनले बचाएपछि थ्री स्टारले सिजनको पहिलो खेलमा जीत हात पारेको हो । थ्री स्टारका लागि भने फोडे फोफाना, विराज महर्जन, दिपेश घले र लक्ष्मण रुचाल सबैले पेनाल्टीलाई गोलमा परिणत गरे । पाँच पटकको च्याम्पियन थ्री स्टारले बाइ पाएर सीधै क्वार्टरफाइनल खेलेको हो । मच्छिन्द्रले एपीएफ क्लबलाई हराएर अन्तिम आठमा स्थान बनाएको थियो ।

अब फाइनल प्रवेशका लागि थ्री स्टारले उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी र भारत सिक्किमको थन्डर बोल्ट नर्थ युनाइडबीचको विजेतासँग खेल्नेछ । प्रतियोगितामा भोलि साविक विजेता त्रिभुवन आर्मी फुटबल क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ ।



Enter Kantipur TV HD
Advertisement