सिमलताल दुर्घटनाको सात महिना : धुमिल आशमा बेपत्ताका परिवार

माघ २८, २०८१ |सुमन पन्थ|राजेश्वर पाण्डे|पोषनाथ अधिकारी
सिमलताल दुर्घटनाको सात महिना : धुमिल आशमा बेपत्ताका परिवार

चितवन । २०८१ असार २८ गते चितवनको सिमलतालमा काठमाडौंबाट रौतहटको गौरतर्फ जाँदै गरेको यात्रु बस र वीरगन्जबाट काठमाडौं आउँदै गरेको यात्रु बस त्रिशूली नदीमा खसेको आज ७ महिना भयो । दुई वटा बसमा ३६ र २६ गरी ६२ जना यात्रु भएकामा ३ जना बाँच्न सफल भए । पछि २४ जनाको शव भेटियो ।

तर बाँकी यात्रु सहित बस अहिले पनि बेपत्ता छ । वर्षात्‌को धमिलो भेलमा झन्डै एक महिना खोजी गरियो । तर कुनै उपलब्धि हासिल भएन । केही समय सरकारी ध्यान हराएको बस र यात्रुको खोजीमा केन्द्रित भए पनि पछिल्लो समय बेपत्ता रहेको बस र त्यसमा हराइरहेका यात्रुको खोजीका लागि राज्यको कुनै पनि संयन्त्रले ध्यान दिएको छैन । हराइरहेका ३५ यात्रुका परिवार बाहेक अहिले सबैले घटना भुलिसकेका छन् ।

दुर्घटना भएको केही समयसम्म भिडभाड हुने सिमलताल क्षेत्रमा दुर्घटनास्थल हेर्न भन्दै केही यात्रु रोकिने बाहेक खोज तथा अध्ययनका लागि कोही फर्किएर गएका छैनन् ।

दुर्घटना लगत्तै सरकारले खोजी र उद्धारको लागि सबै संयन्त्रको प्रयोग गर्‍यो भने भारतबाट समेत गोताखोरको टोली झिकायो तर केही शव भेटिए पनि ३५ यात्रु सहित २ वटा बस भेटिएन । दुर्घटनापछि संसदीय कार्यदल गठन भयो भने असार ३१ गते गृह मन्त्रालयले ६ सदस्यीय छानबिन समिति पनि बनायो । दुर्घटनापछि सरकारले मृतक तथा बेपत्ता भएकाहरूको परिवारलाई राहत रकम उपलब्ध गराए पनि आफन्तको शव नभेटिँदा परिवार अझै धुमिल आशा लिएर बसिरहेका छन् । धमिलो पानीका कारण त्यति बेला खोजी कार्य कठिन भएको थियो । तर अहिले नदीमा पानीको बहाव घटेको र पानी पनि सङ्लो भएकोले राज्यले खोजीमा चासो दिए आफन्तको कुनै अंश भए पनि भेटिने परिवारको आशा छ ।

“घटनामा मेरी छोरी सहित चार जना बेपत्ता छन् । मेरी श्रीमती अहिले पनि शोकमा छिन्, सरकारले क्षतिपूर्ति त दियो । अब त पानी कम भयो सरकारले हड्डी भए पनि खोजिदिए हामी आफ्नो रीतिरिवाज अनुसार किरिया गर्थ्यौं”, बेपत्ताका आफन्त रौतहटका जुगेश्वर यादवले बताउनुभयो ।

दुर्घटनाको छानबिन गर्न बनेको समितिले नीतिगत सुधार, संरचनागत सुधार, प्रशासनिक तथा व्यवस्थापकीय सुधार तथा खोज तथा उद्धार कार्यमा आधुनिक प्रविधि र उपकरणको व्यवस्थापन गर्न सुझाव मात्रै दिएन ४४ पृष्ठ लामो प्रतिवेदनमा सवारी दुर्घटनाका कारण त्रिशूली नदीमा धेरै सवारी साधन खसेका र हालसम्म पनि त्यस्ता सवारी साधनहरू बेपत्ता रहेको अवस्थामा नदी शान्त तथा पानी सफा रहेको बेलामा नदीमा एअरवर्न लेजर बाथमेट्री सर्वे गरी हराइरहेको सवारी खोज्ने तथा नक्सा तयार गर्नुपर्ने उल्लेख गर्‍यो ।

तर विगतका ठूला दुर्घटनामा जस्तै यो दुर्घटनापछि गठन भएको संसदीय कार्यदल र छानबिन समितिले बेपत्ताको खोजी, सडक सुरक्षामा आवश्यक नीति नियमदेखि सावधानीका विषयहरू समेटिएका प्रतिवेदन खात मात्र लगाइए ।

पछिल्लो तीन वर्षमा मात्र धादिङको गल्छीदेखि चितवनको नारायणगढसम्म २२ वटा सवारी साधन नदीमा खसेकोमा १२ वटा सवारी साधन सहित ४४ मानिस अझै भेटिएका छैनन् । दुर्घटनापछि केही समय खोज तथा उद्धारमा चासो दिए पनि यसतर्फ सरकारले गम्भीर रूपमा ध्यान नदिँदा पीडित परिवारको पीडामा सरकार सहायक हुन सकेको छैन ।


Image

सुमन पन्थ

पन्थ कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।

Image

राजेश्वर पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजन रौतहट संवाददाता हुन् ।

Image

पोषनाथ अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका धादिङ संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement