काठमाडौं । भारतले इंग्ल्यान्डविरुद्धको बाइलेटरल सिरिज आफ्नो पक्षमा पारेको छ । गएराति ओडिसामा सम्पन्न दोस्रो एकदिवसीय खेलमा चार विकेटले विजयी भएसँगै तीन खेलको सिरिजमा भारतले कब्जा जमाएको हो ।
इंग्ल्यान्डले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । सुरुवात राम्रो गरे पनि एक बल बाँकी रहँदै अल आउट भएर उसले तीन सय चार रन जोड्न सक्यो । ओपनर फिल सल्टले बेन डुकेटसँग ८१ रनको उत्कृष्ट साझेदारी गरेका थिए । ११औँ ओभरमा फिल सल्ट २६ रन बनाएर बाहिरिए । वरुण चक्रवर्तीले सल्ट र बेनको साझेदारी तोडेका थिए । ५६ बलमा ६५ रन बनाएका बेनले १० चौका प्रहार गरे । तेस्रो नम्बरमा मैदान प्रवेश गरेका जोय रुटले ७२ बलमा ६९ रनको महत्वपूर्ण योगदान गरे ।
खेलमा तेस्रो विकेट गुमाउँदा पाहुना टोलीले २९ ओभर चार बलमा एक सय ६८ रन बनाइसकेको थियो । सहज अवस्थामा पुगेको टोलीका लागि हेरी ब्रुकले ३१ रन बनाए भने जस बटलरले ३४ रनको योगदान गरे । भारतले मध्यक्रम र पछिल्लो अर्डरमा कसिलो बलिङ गरेपछि उसले पाहुना टोलीलाई धेरै अघि बढ्न भने दिएन । हषिर्त रानाले ब्रुकलाई आउट गरे । लियम लिविनस्टोम ४१ रन बनाएर रन आउट भए ।
त्यसपछिका ब्याटरले सम्झनलायक प्रदर्शन गरेनन् । भारतका लागि रविन्द्र जडेजाले १० ओभरमा ३५ रन खर्चिएर तीन विकेट लिए । मोहम्मद सामी, हषिर्त राना, हार्दिक पाण्ड्या र वरुणले समान एक-एक विकेट बाँडे ।
जवाफमा भारतले ४४ ओभर तीन बलमा ६ विकेट गुमाएर तीन सय ८ रन बनाउँदै लक्ष्य पूरा गर्यो । भारतीय ओपनरले सानदार ओपनिङ साझेदारी गरे । सुभमन गिलले रोहित शर्मासँग एक सय ३६ रनको साझेदारी गरेका थिए । ज्यामी ओभरटर्नले बोल्ड गर्नुअघि गिलले ५२ बलमा ६० रन जोडिसकेका थिए । त्यसपछि मैदान प्रवेश गरेका स्टार ब्याटर विराट कोहली पाँच रनमै पवेलियन फर्किए । उनलाई आदिल राशिदले विकेटकिपर फिल साल्टबाट क्याचआउट गराएका हुन् । श्रेयस अयरले पनि ४४ रन बनाए । उनले रोहितसँग ७० रनको साझोदारी गरे । अयर रन आउट हुँदा भारतले तीन विकेटको क्षतिमा दुई सय २० रन पूरा गरिसकेको थियो ।
अक्षर पटेलले अविजित ४१ रनको योगदान गरे भने राहुन र हार्दिक सस्तैमा आउट भए । गएराति भारतविरुद्ध इंग्ल्यान्डका ज्यामी ओभरटोनले दुई विकेट लिए । अटकिन्सन, आदिल र लिविनस्टोमले पनि समान एक-एक विकेट आफ्नो नाममा गरे । यी दुई टिमबीचको पहिलो एकदिवसीय खेलमा भारत चार विकेटले नै विजयी भएको थियो । सिरजको अन्तिम खेल बुधबार हुनेछ ।