त्रिकोणात्मक शृंखला : नेपाल जितविहीन, थाइल्यान्डलाई उपाधि

माघ २५, २०८१ |खेल ब्युरो
त्रिकोणात्मक शृंखला : नेपाल जितविहीन, थाइल्यान्डलाई उपाधि

काठमाडौं । जितविहीन रहँदै नेपालले महिला टी ट्वेन्टी अन्तर्राष्ट्रिय त्रिकोणात्मक शृंखला समाप्त गरेको छ । शृंखलाको अन्तिम खेलमा थाइल्यान्डसँग ७ विकेटले पराजित भएपछि नेपाल घरेलु मैदानमा जितविहीन बनेको हो । थाइल्यान्डले भने नेपाल विरुद्धको जितसँगै सिरिज आफ्नो पक्षमा पार्यो ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८१ रन मात्र बनाउन सक्यो । पावरप्लेमा कुनै विकेट नगुमाएको नेपालले तीव्र गतिमा रन बनाउन सकेन ।

सुस्त ब्याटिङ गरेको नेपालका लागि सम्झना खड्काले सर्वाधिक १७ रन र कप्तान इन्दु बर्माले १० रनको योगदान दिइन् । कविता जोशीले १४ रन बनाइन् । राजमती ऐरी ले आफ्नो डेब्यु खेल खेल्दै ११ रनमा अविजित रहिन् । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

थाइल्यान्डका बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै नेपालका प्रमुख ब्याटरहरूलाई दबाबमा राख्न सफल भए । कमचोम्फुले ३ विकेट हात पारिन् । ८२ रनको सामान्य लक्ष्य सहित जवाफी ब्याटिङ गरेको थायल्यान्डले १७ ओभरमा ३ विकेट गुमाएर जित हात पार्यो । थाइल्यान्डका लागि नन्नापतले २३ रनको योगदान दिइन् । चाइवाई २७ र माया ९ रनमा अविजित रहे । नेपालका लागी कप्तान इन्दु बर्माले २ तथा पूजा महतोले १ विकेट हात पारे ।

यससँगै निराशाजनक प्रदर्शन गरेको नेपालले शृंखलाका सबै ६ खेलमा हारको सामना गर्यो । ६ मध्ये ५ खेल जितेको थाइल्यान्डले शृंखला कब्जा गर्दा ४ खेल जितेको डच टोली दोस्रो स्थानमा रह्यो ।



Enter Kantipur TV HD
Advertisement