लिभरपुल इंग्लिस लिग कपको फाइनलमा

माघ २५, २०८१ |खेल ब्युरो
लिभरपुल इंग्लिस लिग कपको फाइनलमा

काठमाडौं । टोटेनहम हट्स्परलाई हराउँदै साविक विजेता लिभरपुलले इंग्लिस लिग कपको फाइनलमा स्थान सुरक्षित गरेको छ। गएराति लिभरपुलको एन्फिल्ड रंगशालामा भएको खेलमा घरेलु टोली ४-० गोलले विजयी भएर फाइनलमा पुगेको हो। अब लिभरपुलले फाइनलमा न्युकासलसँग प्रतिस्पर्धा गर्ने पक्का भएको छ।

लिभरपुलको लागि कोडी गाक्पो, मोहम्मद सलाह, डोमिनिक सोबोल्साई र भर्जिल भान डाइकले गोल गरेका थिए। डबल लेगमा भएको सेमिफाइनलको पहिलो खेलमा टोटेनहमले एक शुन्य गोलको जित निकालेको थियो। पहिलो लेगमा एक गोलले पछि परेको भए पनि दोस्रो लेगमा लिरभपुलले घरेलु मैदानमा टोटेनहमलाई ४-० ले हराउँदै समग्रमा ४-१ को नतिजासाथ फाइनलमा पुगेको हो ।

खेलको, ३४ औं मिनेटमा मोहम्मद सलाहले निकालिदिएको पासमा गाक्पोले गोल गरेका थिए। यससँगै पहिलो हाफमा लिभरपुल एक गोलले अघि रहृयो। खेलको ५१ औं मिनेटमा पेनाल्टीको अवसर पाउँदा सलाहले नै गोल गोल गरेका थिए। गोलकिपर कोहोमनि केलेहेरले लिभरपुलका डार्विन नुनेजलाई गोलस्कोरिङको अवस्थामा लडाएपछि लिभरपुलले पेनाल्टी पाएको थियो।

कोनोर ब्राडलिले उपलब्ध गराएको पासमा लिभरपुलको लागि डोमिनिकले गोल गरेपछि लिभपुलले तीन गोलको अग्रता बनाएको थियो। त्यसैगरी, म्याक अलिस्टारले निकालिदिएको बलमा भान डाइकले ८० औं मिनेटमा गोल गर्दै ४-० को अग्रतामा पुर्याएका थिए। पाहुना टोली टोटेनहमले ३५ प्रतिशत बलमा नियन्त्रण बनाएको भए पनि उसले गोल गर्न भने सकेन्।

नयाँ प्रशिक्षक अर्न स्लोटको प्रशिक्षणमा लिभरपुलले लगातार तीन पटक टोटेनहमलाई हराइसकेको छ। यसअघिका दुई जित प्रिमियर लिगमा निस्किएका थिए। अघिल्लो सिजनको समेत विजेता लिभरपुल यससँगै उपाधि रक्षा गर्नबाट एक जितले मात्रै टाढा छ।



Enter Kantipur TV HD
Advertisement