अन्तिम टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारतसँग इंग्ल्यान्डको फराकिलो हार

माघ २१, २०८१ |खेल ब्युरो
अन्तिम टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारतसँग इंग्ल्यान्डको फराकिलो हार

काठमाडौं । अभिषेक शर्माको विस्फोटक शतकको सहयोगमा पाँचौ तथा अन्तिम अन्तिम टी-ट्वेन्टी अन्तर्राष्ट्रियमा घरेलु टोली भारतले इंग्ल्यान्डलाई १ सय ५० रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

यससँगै भारतले सिरिज चार-एकले आफ्नो पक्षमा पारेको छ । अभिषेकले १ सय ३५ रन बनाए । जुन कुनै पनि भारतीय खेलाडीले बनाएको उच्चतम टी-ट्वेन्टी स्कोर हो । उनले बलिङमा पनि २ विकेट लिए ।

मुम्बईको वानखेडे रंगशालामा इंग्ल्यान्डले टस जितेर बलिङ रोजेको थियो । पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर २ सय ४७ रन बनायो । अभिषेक शर्माले १३ छक्का प्रहार गर्दै १ सय ३५ रन बनाए । शिवम दुवेले ३० रन जोडे । इंग्ल्यान्डका लागि ब्राइडन कार्सेले ३ र मार्क वुडले २ विकेट लिए । आदिल रशिद, जोफ्रा आर्चर र जेमी ओभरटनले एक-एक विकेट लिए ।

जवाफमा २ सय ४८ रनको लक्ष्य पछ्याएको इंग्लिस टोलीले १० ओभर ३ बलमा ९७ रनको स्कोरमा सबै विकेट गुमायो । उसका लागि फिल साल्टले ५५ रन बनाए । भारतका मोहम्मद शामीले ३ विकेट लिए । अभिषेक शर्मा, शिवम दुवे र वरुण चक्रवर्तीले २-२ विकेट लिए । रवि विश्नोइले १ विकेट हात पारे । दुई टोलीबीचको एकदिवसीय शृंखला फेब्रुअरी ६ देखि सुरु हुनेछ ।