काठमाडौं । इंग्लिस प्रिमियर लिगमा आर्सनलले म्यानचेस्टर सिटीविरुद्ध पाँच-एक गोलको सानदार जित हात पार्दै शीर्षस्थानमा रहेको लिभरपुलसँगको अंक दूरी ६ मा झारेको छ । डिफेन्डिङ च्याम्यिन सिटीका लागि यो रात दुःखद् रह्यो । आफ्नै गल्तीका कारण सुरुवाती २ गोल बेहोरेको पेप गार्डिओलाको टोलीले पुनरागमन गर्न सकेन ।
खेलको सुरुवातमै आर्सनलले अग्रता बनायो । म्यानचेस्टर सिटीका डिफेन्डर मनुएल अकान्जीले जन स्टोन्सको पास नियन्त्रण गर्न नसक्दा आर्सनलले अवसर सदुपयोग गर्यो । काइ हाभट्र्जले बल नियन्त्रण गर्दै कप्तान मार्टिन ओडेगार्डलाई पास दिए । ओडेगार्डले खेलको १ सय ३औँ सेकेन्डमा गोल गर्दै आर्सनललाई अग्रता दिलाए ।
खेलको ५५औँ मिनेटमा एर्लिङ हालान्डले साबिन्होको क्रसमा हेडरमार्फत् गोल गर्दै खेल एक-एक गोलको बराबरीमा फर्काए । तर त्यसपछि आर्सनल निकै आक्रमक बन्यो । ५६औँ मिनेटमा फोडेनको पास थाँमस पार्टेले रोक्दै लामो दूरीबाट शट गोल गरे ।
त्यसको पाँच मिनेटपछि पाँच १८ वर्षीय माइल्स लुइस-स्केलीले आफ्नो पहिलो प्रिमियर लिग गोल गर्दै आर्सनलको अग्रता तीन-एक बनाए । काइ हाभट्र्जले काउन्टर-अट्याकमा अर्को गोल थपे । खेलको अन्तिम क्षणमा १७ वर्षीय एथान एनवानेरीले उत्कृष्ट लेफ्ट-फुटेड सटमार्फत् आर्सनललाई पाँच-एकको अवस्थामा पुर्याए ।
लुइस-स्केली र एनवानेरीको गोलसँगै प्रिमियर लिगको इतिहासमा चौथो पटक १८ वर्षभन्दा कम उमेरका खेलाडीले एउटै टिमका लागि गोल गरे । १७ वर्ष ३ सय १८ दिनका एनवानेरी र १८ वर्ष १ सय २९ दिनका लुइस-स्केलीले गोल गरेका हुन् । पाँच-एकको जितसँगै आर्सनलले २४ खेलबाट तालिकामा ५० अंक जोडेको छ । आर्सनल लिगको दोस्रो स्थानमा छ । शीर्ष स्थानमा रहेको लिभरपुलले ५६ अंक जोडेको छ । सिटी समान खेलमा ४१ अंकसहित चौथो स्थानमा छ ।