काठमाडौं । दोस्रो ई-स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसीपका लागि ११ हजार भन्दा बढी खेलाडीले नाम दर्ता गराएका छन् । ई-स्पोर्ट्स संघ नेपाल (इशान) को आयोजना तथा नेपाल प्लेजको व्यवस्थापनमा प्रतियोगिता हुन लागेको हो ।
च्याम्पियनसिपमा पब्जी मोबाइल, ई-फुटबल, मोबाइल लिजेण्ड्स, डोटा टू, भ्यालोरेन्ट र कस प्ले गरी ६ विधामा प्रतिस्पर्धा गराउने आयोजकको तयारी छ । ई-फुटबलमा २ हजार ५ सय १९ जनाले नाम दर्ता गराएका छन् । यसैगरी पब्जी मोबाइलमा एक हजार ३९ टिम, मोबाइल लेजेण्ड्समा २ सय ८१ टिम, भारोलेरेन्टमा ६६ टिम, डोटा टु मा ५८ टिमले नाम दर्ता गराएका छन् । कसप्ले विधामा भने अझै दर्ता खुल्ला नै राखिएको आयोजकले बताएको छ ।
नेपाल प्लेजका एमडी उज्जेन लाल श्रेष्ठले सबै विधामा गरेर ११ हजार पाँच सय भन्दा बढी खेलाडीले नाम दर्ता गराएको जानकारी दिनुभयो । प्रतियोगितामा ४ हजार भन्दा बढी टिम सहभागी हुने छन् । च्याम्पियनसिपको क्वालिफायर राउण्डका खेलहरू आज सुरू भएर १८ गतेसम्म हुनेछ । यसैगरी समूह चरण र प्लेअफका खेलहरू माघ २० देखि फागुन २ गतेसम्म हुनेछ । क्वालिफायर र प्लेअफका खेलहरू अनलाइनमा हुनेछ भने अन्तिम चरणको खेल मात्र भौतिक रूपमा (ल्यान इभेन्ट) हुनेछ ।
च्याम्पियनसिपको अन्तिम चरणको खेल आगामी फागुन ८ देखि १० गतेसम्म भौतिक रूपमै त्रिपुरेश्वरस्थित दशरथ रंगशालको कभर्डहलमा आयोजना गरिने इशानले जनाएको छ ।
अन्तिम चरणमा पब्जीतर्फ १६ टिमले प्रतिस्पर्धा गर्नेछन् । पब्जीमा हरेक टिममा ४ जना मुख्य खेलाडी हुनेछन् भने १ अतिरिक्त खेलाडी र १ म्यानेजर हुनेछन् । यसैगरी मोबाइल लेजेण्ड्समा २ टिमले अन्तिम चरणमा प्रतिस्पर्धा छन् । यसमा हरेक टिममा ५ जना खेलाडी हुनेछन् भने एक अतिरिक्त खेलाडी र १ म्यानेजर हुनेछन् । ई–फुटबलमा अन्तिम चरणमा ३२ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । यसैगरी डोटा टू र भ्यालोरेन्टमा ४-४ टिमले अन्तिम चरणमा प्रतिस्पर्धा गर्नेछन् । कसप्लेमा भने कुनै लिमिटेसन राखिएको छैन । उनीहरूले फेसन सो शैलीमा स्टेजमा डेमो देखाउनेछन् ।
च्याम्पियनसिपको कुल प्राइज पुल २५ लाख रहेको छ । जसबाट ६ विधाको विजेता तथा उपविजेता खेलाडीहरूलाई पुरस्कार प्रदान गरिनेछ । हरेक इभेन्टको पुरस्कार राशी फरक हुने आयोजकले जानकारी दिएको छ । जसमा पब्जी मोबाइल सबैभन्दा चर्चित विधाको रूपमा छ र यसमा कूल १० लाख १० हजार पुरस्कार राशी राखिएको छ । जसमा विजेताले नगद २ लाख ५० हजार पाउनेछन् । यस्तै दोस्रोले एक लाख ८० हजार तथा तेस्रोले एक लाख २० हजार पाउनेछन् भने अन्तिम चरणमा प्रतिस्पर्धा गर्ने १६ वटै टिमले नगद पुरस्कार पाउनेछन् ।
यस विधामा सर्वोत्कृष्ट खेलाडीले पनि नगद पुरस्कार पाउनेछन् । यस्तै मोबाइल लेजेण्ड्समा ५ लाख २० हजार पुरस्कार राशी रहेको छ । जसमा विजेताले एक लाख ८२ हजार हात पार्नेछन् भने उपविजेताले एक लाख ४ हजार पाउनेछन् । यसमा शीर्ष ८ मा रहनेले नगद पुरस्कार प्राप्त गर्नेछन् । यस विधामा पनि सर्वोत्कृष्ट खेलाडीले नगद पुरस्कार पाउनेछन् ।
भ्यालोरेन्टमा ३ लाख, ई-फुटबलमा २ लाख १० हजार, डोटा टु मा २ लाख र कस प्लेमा १ लाख ५० हजार पुरस्कार राशी रहेको आयोजकले जनाएको छ । भ्यालोरेन्ट र डोटा टु को विजेताले समान १ लाख ५ हजार हात पार्नेछन् भने ई-फुटबलमा विजेताले ९० हजार र कसप्ले विजेताले ७० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । भ्यालोरेन्ट र डोटा टु मा पनि शीर्ष ८ मा रहनेले नगद पुरस्कार पाउनेछन् भने ई-फुटबल र कसप्लेमा शीर्ष चारमा रहनेले नगद पुरस्कार पाउनेछन् । मोस्ट पपुलर कसप्लेअरले पनि नगद पुरस्कार पाउनेछन् ।