काठमाडौं । जलवायु परिवर्तनले नेपाललाई पारेको असरबारे विश्व समुदायलाई जानकारी गराउने र समाधान खोज्ने उद्देश्यका साथ ‘सगरमाथा संवाद’ आजदेखि काठमाडौंमा सुरू भएको छ ।
सरकारले पहिलोपटक आयोजना गरेको संवादको प्रमुख नाराका रूपमा ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ तय भएको छ । आजदेखि सुरू भएको सगरमाथा संवाद आइतबारसम्म सञ्चालन हुनेछ ।
जलवायु परिवर्तनको जोखिम रोक्नेदेखि न्याय मागसम्मका एजेन्डा तय गरिएको सगरमाथा सम्वादका लागि एक सय ७५ विदेशी पाहुना आएको परराष्ट्रमन्त्री एवं संवाद व्यवस्थापन समितिका संयोजक डा. आरजु राणा देउवाले बताउनुभयो । कार्यक्रममा १२ देशबाट उच्च तहको प्रतिनिधिमण्डल सहभागी हुनेछ । चीन, भारतलगायत मुलुकका विशिष्ट पाहुना नेपाल आइसकेका छन ।
संवादका लागि जलवायु परिवर्तनको जोखिम बढ्न नदिन हिमालदेखि टापु राष्ट्रलाई जोड्ने, हरित अर्थतन्त्रलाई प्राथमिकता दिने, जलवायु परिवर्तनको नोक्सानीबाट बच्ने र सम्वोधन गर्ने उपाय खोज्ने जस्ता एजेण्डालाई प्राथमिकता दिने सरकारको तयारी छ ।
उद्घाटन समारोहमा संवादसम्बन्धी तयार पारिएको एक चिनारीयुक्त श्रव्यदृश्य सामग्री प्रस्तुत गरिएको छ । भारत र चीनका तर्फबाट प्रतिनिधिमण्डलको नेतृत्व गरेर आउनुहुने विशिष्ट पाहुना र कोप-२९ का अध्यक्ष तथा अजरबैजानका राष्ट्रपतिका जलवायु विषयसम्बन्धी प्रतिनिधिले सम्बोधन गर्ने कार्यक्रम छ ।
संवादलाई सम्बोधन गरी संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पठाएको श्रव्यदृश्य सामग्री पनि आजै प्रस्तुत गरिएको छ । आजै छुट्टा-छुट्टै विषयका समानान्तर सत्रको सुरुआत हुने छ ।
सबै सत्र भोलि साँझसम्म सम्पन्न हुने कार्यसूची छ । राजनीतिज्ञ, नीति निर्माता, विद्वान, विज्ञ एवं विषयज्ञाता र अनुसन्धानकर्ताको गहन ढङ्गको छलफल एवं विचार आदानप्रदान तथा विश्लेषणका माध्यमबाट जलवायु परिवर्तन र पर्वतीय समस्या समाधान तथा सम्भावनामा जोड दिइने छ ।